शिक्षा र स्वास्थ्यमा लुट, कहिलेसम्म छुट ?

शिक्षा र स्वास्थ्यमा लुट, कहिलेसम्म छुट ?

– दीपक खनाल

लोकगायक पशुपति शर्माले त्यसै गाएका होइनन्, ’लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट’ भनेर । उनले गाएजस्तै लुट्न सक्नेहरूका लागि जताततै लुट नै लुट छ यहाँ । शिक्षाको नाममा, जागिरको नाममा, व्यापारको नाममा, सरकारमा गएर, विभिन्न पदमा बसेर पदको बलमा, स्वास्थ्य सेवाको नाममा आदि आदि । अब त कस्तो भइसक्यो भने, नलुट्ने/लुट्न नसक्ने÷ नखोज्ने,÷नजान्ने मान्छे नै समाज, साथीसंगी, आफन्त, समूह, पार्टीबाटै एक्लो हुने दिन आइसक्यो । नलुट्नेलाई लुट्ने–लुट्ने मिलेर अख्तियार, सतर्कता केन्द्र पठाउलान् भन्ने डर बढिसक्यो । किनकि सोझो कमाइले टिक्न र बिक्न गाह्रो हुन थालेको छ यहाँ । लुट्न जानेकाहरूले जताततै सधैँ ‘हरियै’ देख्छन् । 

लुटका धेरै कथा छन्, क्षेत्र छन् । शिक्षा/स्वास्थ्य क्षेत्र सदावहार लुट्ने बगैँचा हो । कतिसम्म विडम्बना छ भने, जुन देशको संविधानमा देखाउनका लागि शिक्षा र स्वास्थ्यलाई नागरिकको निःशुल्क मौलिक हकका रूपमा लिइएको छ, त्यही क्षेत्रमा खुलेआम लुट छ । अधिकांश शैक्षिक व्यापारीका लागि लुट्ने सुनौलो अवसर हो यो समय । अहिले करिब–करिब भर्ना सकिएर नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । यसक्रममा अनेक शीर्षकमा लुटिन्छ, लुट्ने गरिन्छ । विद्यार्थी भर्नाका क्रममा यसबीच कम्तीमा ७–८ वटा स्कुल बुझियो । सुन्दा पनि ओंठतालु सुक्ने, कुनैमा त भर्ना फि नै ७५ हजार, ९८ हजार ! अझ मासिक फि छुट्टै, होस्टेल, खाजा, खाना, बोडर्स, खेलकुद, ट्युसन, ड्रेस, कापी, किताब खर्च भिन्दै । टुर जान पर्दाको खर्च लुकाइएको हुन्छ । बाफ रे बाफ ! अलिकति कमाइ हुनेलाई त कुरा सुन्दैमा आङ जिरि¨ हुन्छ । कसरी सक्ने गरिब जनताले यस्ता स्कुलमा पढाउने आँट गर्न ? कतिसम्म डकैती भने, स्कुल ड्रेस, कापी, किताबसमेत त्यही स्कुलमा किन्नुपर्ने बाध्यतामा पारिन्छ । सेटिङ त्यसरी नै मिलाइएको हुन्छ । यस्तो सेटिङ ड्रेस सिलाउने, पुस्तक प्रकाशकदेखि वितरकबीच समेत हुँदोरहेछ । अन्त किन्न गए पाइँदैन । पाइए पनि स्कुल चलिसकेको समयमा पाइँदैन । घुमाइफिराइ अभिभावकलाई त्यही स्कुलबाट लिन विवश पारिन्छ ।

स्वास्थ्यमा त्यस्तै छ । यति हरफ लेखिरहँदा ०७५ साल असोजको याद आइरहेको छ । त्यो भाइको व्यथा, पीडा सम्झँदा भावुक बनिरहेको छु । कान्छो छोरो जन्मनुअघि नै २६ दिन पाटन अस्पताल बस्न प¥यो । त्यतिबेला काठमाडौँको दक्षिणकाली स्थायी घर भएका श्रेष्ठ थरका एकजना भाइ र म सँगै कुरुवा कोठाका साथी बन्यौँ । पढिरहेको, लेखिरहेकोले होला, धेरै मानिसको हेराइ पथ्र्याे । उनी नजिकिँदै मनको बह पोख्थे । ललितपुरको मंगलबजारकी चेली र उनीबीच प्रेम विवाह भएको ७ महिनामै बच्चा जन्मेछ । सात महिनामा जन्मेको बच्चा अरुभन्दा ‘एक्स्ट्रा’ हुन्छ भन्ने नेपाली विश्वासले गद्गद् थिए उनीहरू । गौतम बुद्ध पनि सात महिनामै जन्मेकाले नेपाली समाजले त्यसमा विश्वास गरेको होला । तर त्यो खुशी केही दिनमै दुःख बनेर आयो ती अबला जोडीका सामु । सात महिनामा जन्मेको बच्चाको फोक्सो राम्ररी विकास नहुने हुँदा धेरैलाई अक्सिजन लिन गाह्रो हुँदोरहेछ । अक्सिजन दिँदा दिँदा हैरान । अस्पतालले सामान छैन, अक्सिजन छैन भनेर घरीघरी बाहिर पठाउँदोरहेछ । त्यो पनि सबैभन्दा महङ्गो मेडिसिटी अस्पतालमा । उनी निन्याउरो अनुहार लगाएर बिल देखाउँदै भन्थे– दाइ ! एक घण्टाको ९६ हजार लियो । पाटनबाट त्यही मेडिसिटी जान–आउन भनेर १४ हजार लिन्छ एम्बुलेन्सले । यति दिनमा दुई–तीन पटक जानुपर्छ भन्छ अस्पतालले, नगए तिम्रो बच्चा के हुन्छ भन्न सकिन्न भन्छ । यसो गर्दा एक महिनामा ५ लाख सकियो । कतै लेख्दिन मिल्दैन दाइ ?’ याद आइरहन्छ– ती भाइ अहिले कहाँ होलान् ? के गरिरहेका होलान् ? एकरात सपनामा नै देखेको थिएँ, पाटनकै गाडी चलाइरहेको अवस्थामा । उनले चाहिँ बिर्से कि ?  

सन्दर्भमा आएका ती भाइबहिनी एक प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्तो त कति देखेको छु कति ! निजी, सरकारी अस्पतालमा गएर केही दिन बस्ने हो भने त्यो अर्कै लुटको संसार जस्तो लाग्छ । जिन्दगीमा अनेक बाध्यता, विवशता आइलाग्दोरहेछ । धेरैचोटी अस्पताल बस्नुपर्दाका मेरा प्रत्यक्ष देखाइ÷भोगाइलाई एक खालको परीक्षणात्मक रिपोर्टिङ भन्दा पनि फरक पर्दैन । कहिले कहिले बा, आमा अनि पछिल्लो समय श्रीमती अनिता बिरामी हुँदा धेरै सरकारी÷सामुुदायिकदेखि अनेकाँै निजी अस्पताल/क्लिनिकमा बसेको छु । ती सबैतिरको निश्कर्ष के भने अपवाद छाडेर अधिकांश चिकित्सक, त्यो क्षेत्रका मानिस ‘वैधानिक लुटेरा’ हुँदारहेछन् । धेरै डाक्टर, स्वास्थ्य व्यवसायी बाहिर देखिँदैनन् तर भित्र–भित्र अनेक ‘सेटिङ’मा हुन्छन् । डाक्टर–स्वास्थ्य व्यवसायी–औषधि व्यापारीबीच लेनदेनमा सेटिङ हुन्छ । उपचार, परीक्षण र औषधिको नाममा तिनले देखाइदेखाइ ठग्छन् । गरिब जनतालाई नै शोषण गरेर, लुटेर पढ्दा, व्यवसाय गर्दा लागेको खर्च रातारात उठाउनुपरेको हुन्छ तिनीहरूलाई । कोही भने राम्रा चिकित्सक पनि छन् । यद्यपि अरुण शाही, रमिला शिल्पकार, रेणुका बञ्जाराजस्ता डाक्टरले दलालसँग कुरा नगरी सिधै कम्पनीमा औषधि किन्दा सस्तो पर्छ भनेर सल्लाह पनि दिनुभएको छ । 

यी क्षेत्रका विकृति, विसङ्गति, लुट, ठगीविरुद्ध आवाज उठाउने कसले ? नेता, मन्त्रीले ? अहँ, तिनले बोल्दैनन् । किनकि कतिपय राजनीतिक पार्टी र तिनका विभिन्न संगठनका नेताको स्कुल, कलेज, अस्पताल, क्लिनिकमा शेयर हुँदोरहेछ । अनि तिनीहरूले शैक्षिक, स्वास्थ्य माफियातन्त्रका विरुद्ध बोल्छन् ? किन बोल्छन् ? उनीहरू त्यसको संरक्षण गर्न पो गएका हुन्, जनताको पक्षमा बोल्न त्यहाँ गएका हुन् र ? पैसा दिएकाले न सांसद्मा टिकट दिएको हो पार्टीले अथवा समानुपातिक सांसदमा चयन गरेको हो । नभएकाले पहुँचवाला र शक्तिवालाले पनि सोर्सफोर्समा आफ्ना, नातागोताका छोराछोरी निःशुल्क वा भारी छुटमा त्यहीँ पढाएका हुँदारहेछन् । तिनीहरू र आफन्तको उपचार निःशुल्क या भारी छुटमा हु्ँदोरहेछ । कतिपय पत्रकारले समेत आफ्ना बच्चा त्यसरी नै राखेका हुँदारहेछन् । कतिपयले त लगानी पनि गरेका हुँदा रहेछन् । तिनै पत्रकार फेरि मिडियाबाट चर्का चर्का स्वरमा न्याय, समानता र सुशासनका कुरा गर्छन् । राजनीतिक दलको उछित्तो काढेर प्रश्न सोध्छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा कलम चलाउने धेरै पत्रकारलाई यसै क्षेत्रमा पत्रकार सङ्गठन खोलेर आफ्नै स्वार्थ पूर्ति गर्न भ्याइ नभ्याइ छ । अनि तिनले यी गरिब जनताको पक्षमा बोलिदेलान् भनेर आशा गर्न सकिन्छ ? 

संघर्षशील राजनीतिक दल, राज्य, सरकार, सरोकारवाला संवेदनशील बनेर विद्यमान संविधानमा लेखिएको निःशुल्क शिक्षा र स्वास्थ्यको प्रावधान मात्रै लागु गर्न तयार हुने हो भने पनि गरिब नागरिकलाई तत्काल केही राहत मिल्ने थियो तर जीवनभर जनवादी शिक्षा भनेर नथाकेका धेरैजसो कम्युनिष्ट पार्टी र तिनका नेता नै शैक्षिक र स्वास्थ्य क्षेत्रमा हात हालेर ‘कमाउनिष्ट’मा बदलिएकाले तिनै संगठननिकट पार्टीको नेताले मुलुक हाँकेको बेला पनि विद्यमान संविधानमै लेखिएको शिक्षा र स्वास्थ्यजस्तो मौलिक हकलाई सस्तो, निःशुल्क बनाउने झिनो आशा बाँकी छैन अब । तिनले चाहे पनि शैक्षिक र स्वास्थ्यका माफियाले गर्न दिने छैनन् । किनभने अहिले साम्राज्यवादी–विस्तारवादी संरक्षणमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध दलाल पुँजीवाद चौपट ढंगले कोर्कोराएको अवस्था हो । सबै प्रगतिशील शक्तिहरू मिल्दा शोषणको चरम सीमामा पुगिसकेको यो दलाल पुँजीवाद एक दिन त तासको गुफाझैँ ढल्छ ढल्छ । समयले यसलाई सिसाको झ्यालझैँ झ¥याम्झुरुम पारेरै छाड्छ छाड्छ तर त्यतिबेलासम्म गरिब नेपाली जनतालाई दुःख हुने भयो । दुःख सहनै पर्ने भयो । लुटेराहरूलाई लुटिरहन छुट मिल्ने नै भयो । 
 

टिप्पणीहरू