इन्टरनेटको बढ्दो प्रयोग प्रेस स्वतन्त्रतामाथि खतरा : पत्रकार महासंघ

इन्टरनेटको बढ्दो प्रयोग प्रेस स्वतन्त्रतामाथि खतरा : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले एक वर्षको अवधिमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको जनाएको छ । 

सन् २०२२ को मे ३ देखि सन् २०२३ को अप्रिल २६ सम्म प्रेस स्वतन्त्रताका ५५ वटा घटना भएको जानकारी दिएको छ । ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ को अवसरमा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै महासंघले ती घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी १०१ पीडित छन् ।

पछिल्लो एक वर्षको अवधिमा दुई जना पत्रकार गिरफ्तार भएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कब्जा अवरोधका सात, दुर्व्यहार तथा धम्कीका २४, आक्रमणका ११ घटना समेटिएका छन् । 

महासंघका अनुसार दुईवटा लैङ्गिक हिंसा, एउटा विस्थापन र ५५ वटा पेशागत असुरक्षाका घटना भएका छन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरु पनि बढ्दै गएको महासंघको ठहर छ । 

भनिएको छ, ‘प्रेस स्वतन्त्रतामाथिका यस्ता विविधखाले आक्रमणका प्रवृत्तिलाई निरुत्साहित गर्न अभियान नै थाल्नुपर्ने अवस्था छ । डिजिटल सुरक्षा, मिडिया साक्षरताजस्ता अभियान यतिबेला आवश्यक महशुस भएका छन् ।’

संविधानले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई अभ्यासमा पनि महशुस गर्न सक्ने बनाउन आवश्यक रहेको उल्लेख गर्दै उसले कानुन निर्माण गर्ने विषयलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।

संघीयताको अभ्यास थालेको आठ वर्ष बितिसक्दा पनि पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण हुन नसकेकोमा महासंघले दुःखेसो पोखेको छ । आमसञ्चार नीति २०७३, कार्यान्वयनको निम्ति कानुन अभाव भएको र पत्रकारिता क्षेत्रमा देखिएका नयाँ आयाम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।
 

टिप्पणीहरू