काठमाडौं महानगरपालिकाको अर्को १५ दिने सूचना
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विज्ञापन दातालाई वाह्य विज्ञापनका लागि अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिइएको बताइएको छ ।
महानगरपालिकाले १५ दिनभित्र तोकेको मापदण्ड र नीतिगत प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित बाह्य विज्ञापनका लागि महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन दिन आग्रह गर्दै आज सूचना जारी गरेको हो ।
सूचनामा अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताहरुको विज्ञापन बोर्ड हटाउने र सो कार्य गर्दा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घरजग्गा धनीबाट असुल उपर गरिने महानगरपालिकाको चेतावनी छ ।
‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित बाह्य विज्ञापन सम्बन्धमा काठमाडौँ महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन दिन अनुरोध छ,’सूचनामा भनिएको छ, ‘अन्थया अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताहरुको विज्ञापन बोर्ड काठमाडौँ महानगरपालिकाले हटाउनेछ र यसरी हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने व्यहोरा समेत सूचित गराइन्छ ।’
टिप्पणीहरू