संसदमा नाङ्गै प्रस्तुत भएका अमरेशविरुद्ध अख्तियारमा उजुरी
स्वतन्त्र सांसद अमरेशकुमारको सम्पत्ति छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सर्लाहीका विकाशकुमार ठाकुरले सिंहविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनको माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएका हुन् । सी–०६०२८९ दर्ता नम्बर रहेको उजुरीमा राजनीतिबाहेक अन्य पेशा वा व्यवसायमा संलग्न नभएका सिंहको अकूत सम्पत्तिमाथि आवश्यक अनुसन्धान अघि बढाउन आयोगलाई अनुरोध गरेका हुन् ।
२०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा उदाएका सिंहले प्राप्त गरेको आर्थिक हैसियत सर्लाही जिल्लाका आमजनता र मतदाताका लागि आश्चर्यको विषय बनेको ठाकुरको जिकिर छ ।उनले सर्लाहीबाट आर्थिक चलखेल गरेर पटक पटक निर्वाचित भएको पनि निवेदनमा उल्लेख छ । अमरेशबाट सर्वसाधारणको सट्टा आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य मात्रै भइरहेको ठाकुरको भनाइ छ ।
‘सामान्य परिवारमा जन्मिनुभएका माननीय अमेरशकुमार सिंह कुनै समय नेपाली कांग्रेसका तत्कालिन नेता महन्थ ठाकुरका स्वकीय सचिव समेत रहनुभएको थियो । २०६३ सालमा एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेका आर्थिक फड्को सर्लाही जिल्लाका आमजनता र मतदाताका लागि आश्चर्यको विषय बनेको छ । निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो । यसका साथै सर्लाहीबाट आर्थिक चलखेलले पटक पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफु र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भइरहेको छ । राजनीतिलाई पेशा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाघडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपशिल बमोजिमका आधारमा अनुसन्धान गरी आवश्यक कारबाही गरिपाउँ,’ आयोगमा दर्ता गरिएको निवेदनमा भनिएको छ ।
२०६३ सालमा अन्तरिम संसदको सदस्य भइसकेपछि सिंहले सर्लाहीको बलरा नगरपालिका ४ मा करिब दुई करोडको साढे दुई तले घर निर्माण गरेको, बलरा र अर्नाहामा साढे एक करोड मूल्यका २ विद्या जग्गा खरिद गरेको उनको दाबी छ ।
यस्तै, आफ्नी जेठी श्रीमती नीतु सिंहको बुबाको नाममा झापाको भद्रपुरमा दुई करोड मूल्य पर्ने चार कठ्ठा जग्गा खरिद गरेको उल्लेख छ । सिंहले ललितपुरको सैंबुमा हाल २० करोडभन्दा बढी मूल्य पर्ने डेढ रोपनी जग्गा आफ्नो नाममा खरिद गरेको छानबिन माग गर्दै हालिएको उजुरीमा लेखिएको छ ।
टिप्पणीहरू