बेलायत आएका कलाकारहरुलाई अपमान गर्दै फर्काइयो

बेलायत आएका कलाकारहरुलाई अपमान गर्दै फर्काइयो

लन्डन । ओपन कन्सर्टका लागि बेलायत आएका कलाकारहरुलाई आयोजकले अपमान गरेर फर्काएका छन् ।

मगर संघ यूकेको शनिबार आयोजित ओपन कन्सर्टका लागि आएका नेपालका चर्चित गायक गायिकाहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामालाई कार्यक्रम भएको भोलिपल्टै आयोजकले एकाएक टिकट अगाडि सारेर नेपाल फर्काएका हुन् । 

कलाकारमध्ये प्रमोद र ज्योतिले सम्झौता बमोजिम तीन तीन लाख र छेवाङले अढाइ लाख रुपैयां पारिश्रमिक त लिए तर ज्यादै अपमान सहेर फर्कनु परेको छ । 

गत बिहीबार बिहान बेलायत उत्रिएका उनीहरु १६ मे मंगलबार राती फर्किने टिकट थियो । प्रमोद खरेल नेपालमै व्यस्त भएकाले उनी मंगलबार फर्कन चाहेका थिए । तर, ज्योति र छेवाङले 'घरि घरी बेलायत आउने कुरा हुन्न । यहां आफन्तहरु पनि छन्, भेटघाट र सपिंग बांकी नै रहेकाले केही दिन हाम्रो टिकट बढाइदिनु प्लिज' भन्दा पनि मगर संघ यूके अध्यक्ष सीता पुनले मानिनन् । बरु जीन्दगीभरका लागि पुग्ने गरि कलाकारलाई तीतो अनुभव उपहार दिइन् ।

कन्सर्ट हुने दिन आयोजकले खाजा समेत नख्वाइ स्टेजमा उतारेपछि कलाकार यसै फायर थिए । बेलुका कार्यक्रम सकिएर डिनर खान जांदा पनि कन्सर्टमै विक्री हुन बांकी रहेको बासी मःम, सुकुटी र चाउमिन ल्याएपछि कलाकारहरु आक्रोशित भए । प्रमोद जस्ता नेपालका चर्चित र सम्मानित कलाकारमाथि यो शैली अपमानजनक थियो । उत्तिनखेरै प्रमोदले आपत्ति जनाए, 'यो त अति भयो हजुर । तपाईंहरुलाई गारहो छ भने हामी बरु छिट्टै फर्कन्छौं ।' 

अध्यक्ष सीता पुनले 'सरी...' भन्नुको सट्टा ल हुन्छ भोलि फर्कने भनेर सन्किंदै उनीहरुलाई हतार हतार नेपाल फर्काइदिएको श्रोतको दावी छ ।

कलाकारलाई बस्न पनि सस्तो बजेट होटल ट्राभल लजमा राखिएको थियो । तर, ज्योति मगरले त सुत्ने ठाउं नै नपाएपछि आयोजकमध्येकै एक पदाधिकारीको घर खोज्दै जानुपरेको थियो । 

अध्यक्ष सीता पुनको अहंम र घमण्ड अनि उनका हनुमानहरु महासचिव गुमानसिंह थापा र उपाध्यक्ष होम रोकाको कार्यशैलीका कारण मगर संघ यूकेभित्र अहिले रडाको फैलिरहेको श्रोतले जनाएको छ । 

महासचिवलाई संस्था हांक्ने केही अनुभव नभएको र अध्यक्ष सीता पुनले ट्रष्टीहरु, पूर्व अध्यक्षहरु कसैको पनि सुझाव सल्लाह नमान्दा अहिले संस्थाको साख निकै गिरेको एक पदाधिकारीले बताए ।

यही विवादका कारण यसपटकको कन्सर्टमा निवर्तमान पदाधिकारी कोही देखिएनन् । नेपाली संघसंस्थाका प्रतिनिधि पनि कसैलाई निम्तो थिएन । टिकट समेत अति महंगो राखिदिएपछि यसपटक दुई हजार दर्शक पनि पुग्न हम्मे परेको बताइन्छ । 

आयोजकले नेपालका कलाकारहरुलाई टेन्टभित्र लुकाएर राखेपछि तस्विर लिन नपाउंदा कतिपय फ्यानहरु आक्रोशित देखिन्थे । पत्रकारहरुलाई समेत नजिकबाट फोटो खिच्न बन्देज लगाइएको थियो ।

टिप्पणीहरू