जनप्रतिनिधि र प्रशासकहरुको पद राजकीय,गतिविधि नारकीय

जनप्रतिनिधि र प्रशासकहरुको पद राजकीय,गतिविधि नारकीय

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली स्थानीयको करोडौं रुपैयाँ अपचलन गरेर बेपत्ता भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनी बचतकर्ताहरुको करोडौं निक्षेप हिनामिना गरेर बेपत्ता भएका हुन् । 

उनी सम्पर्कविहीन बनेपछि बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय,बागलुङमा हारगुहार गरेका छन् । गत वैशाख ९ गतेदेखि बन्द सहकारीको ढोकामा सूचना टाँस्न लगाएर नगद तरलता नभएकाले भुक्तानी गर्न असहज भएको जानकारी दिएका थिए । 

सहकारीले ७० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी देखिन्छ । आफ्नो जायजेथा बेचेर भए पनि सबैको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका मेयर एकाएक फरार भएको स्थानीयको भनाइ छ । परिवार नै सम्पर्कविहीन बनेपछि स्थानीय थप तनावमा परेका छन् । 

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उक्त सहकारीविरुद्ध दर्जन बढी निवेदन परिसकेको जानकारी दिएकी छन् । स्थानीयले मेयर नेपालीविरुद्ध धमाधम निवेदन दिएकाले प्रहरी प्रशासनले खोजी कार्य अघि बढाएको सिडिओको भनाइ छ । ‘उहाँले कति हिनामिना गर्नुभयो त्यो अनुसन्धानपछि बाहिर आउला । उहाँ अहिले सम्पर्कविहीन हुनुहुन्छ, हामीले खोज्न आग्रह गर्दै प्रहरीलाई पत्र पठाइसकेका छौं’, उनले भनिन् ।

नगरपालिकाका उपमेयर धनबहादुर कायतले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए । गत जेठ ५ गते मेयर नेपालीले पठाएको चिठी पाएको उल्लेख गर्दै भने, ‘मैले नै उहाँलाई नभेटेको कति दिन भइसकेको थियो । गत जेठ ५ गते मेरो कार्यकक्षमा कार्यवाहक दिएको पत्र प्राप्त भयो । उहाँले मलाई केही भन्नुभएको थिएन । मेरो उहाँसँग सम्पर्क पनि हुन सकेको छैन ।’

मेयरको फोन ‘स्वीच अफ’ गरिएको छ । केही समयदेखि उक्त सहकारी समस्याग्रस्त थियो । १८ प्रतिशत ब्याजको प्रलोभन देखाएर सहकारीले स्थानीयसँग रकम उठाएको बताइन्छ । उक्त सहकारीमा सयौं सदस्यको करोडौं बचत छ । परिवारसहित सम्पर्कविहीन बनेका उनी मुलुक छाडेर बाहिर जाने सम्भावना बढेपछि जिल्ला प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन प्रहरीलाई आग्रह गरेको बताएको छ । 

यता, पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली काँगे्रस नेता बालकृष्ण खाँण, बहालरत सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारलगायत १६ जना नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन् । जनप्रतिनिधि र उच्च प्रशासकहरु नै जनता ठग्ने अभियानमा लागेपछि राजकीय पद र जिम्मेवारीमा रहेकाको गतिविधि नारकीय देखिन थालेको हो ।

टिप्पणीहरू