एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै चौदण्डीगढीका मेयर भन्छन्,‘लौं जाँचौं हाम्रो काम’

एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै चौदण्डीगढीका मेयर भन्छन्,‘लौं जाँचौं हाम्रो काम’

उदयपुरको ऐतिहासिक चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिहरुले एक वर्ष कार्यकालको समिक्षा तथा प्रगति विवरण सार्वजनिक गरेका छन् । 

‘सुन्दर समृद्ध नगर बनाउने अभियान, हरेक नगरवासीको मुहारमा मुस्कान’ भन्ने नारासहित जनप्रतिनिधिहरुले आफ्नो एक वर्ष कार्यकालको समिक्षा तथा प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कालुमान लामाले जनतासमक्ष निर्वाचनको बेला गरेका वाचाहरु पूरा गर्न नसकेको बताए । 

स्थानीय सरकारप्रति जनताको अपेक्षा धेरै भएको उल्लेख गर्दै उनले स्रोतसाधनको अभावका कारण सोचेजस्तो काम हुन नसकेकोमा दुःखेसो पोखेका छन् । 

संघको केन्द्रीकृत नीति तथा कार्यक्रमले गर्दा स्थानीय सरकार मर्कामा परेको बताउँदै उनले भने,‘एकातिर बजेटको अभाव छ । संघको नीतिअनुसार हामी चल्नुपर्छ । अनि कसरी जनताले सोचेअनुसारको विकास गर्न सक्छौं ? देशको समृद्धि चिताउने हो भने स्थानीय सरकारलाई बलियो बनाउने गरी बजेट दिनुपर्छ ।’ 

त्यस्तै, उनले आफ्नो एक वर्षको कार्यकालमा भएका कामहरुको जाँच गर्न पनि जनतासमक्ष आग्रह गरेका छन् । सम्मेलनमा पालिकाले एक वर्षमा सम्पन्न गरेर कामहरु श्रव्यदृश्यमार्फत देखाएको थियो । 

चौदण्डीगढी रानीटार सडक, वडा जोड्ने सडक कालोपत्रे, १३ किलोमिटर नयाँ सडक ट्रयाक, सात वटा मोटरेवल पुल, शहरबत्ती, दुई सय २४ विद्यालय भवन, ट्रष्ट भवन, ६ सिँचाइ आयोजना, बजारको दुई किलोमिटर ग्राभेल सडक, १० खानेपानी योजना, तीन स्थानमा तटबन्धका काम नगरपालिकाले सकाएको छ । 

त्यस्तै, नौं वटा डिपबोरिङ्ग, कृषि, शिक्षा, स्वास्थ्यलगायत नगर विकासको लागि सडक यातायातको गुरुयोजना, पाँच वर्षीय आवधिक योजना पनि सम्पन्न भएको जनाइएको छ । यता, उपप्रमुख मणिका दुलालले न्यायिक समिति र अनुगमनको बारेमा आफ्नो अनुभव सुनाइन् ।

टिप्पणीहरू