हातमा स्मार्टफोन, दिमागमा अन्धविश्वास

हातमा स्मार्टफोन, दिमागमा अन्धविश्वास

नेपाली समाजमा ठगीका नयाँ रुप देखिन थालेका छन् । आँखाले हेरेर उपचार गर्नेदेखि विभिन्न किसिमका झारफुकको नाममा समेत सर्वसाधारण ठग्ने क्रम बढेको छ । २१ औं शताब्दीमा पनि नेपाली सर्वसाधारण हातमा स्मार्ट फोन र दिमागमा अन्धविश्वास बोकेर हिँडेको यसबाट पुष्टि हुन्छ ।

विभिन्न रोग निको पार्ने नाममा ठग्ने प्रवृत्ति समाजमा मौलाउँदै गएको छ । सत्यतथ्य नबुझी विश्वास गर्नु नै अन्धविश्वास हो । अन्धविश्वास सामाजिक विकृति पनि हो । तर, हल्लाकै भरमा अन्धविश्वासको विश्वास गर्नेको संख्या यहाँ कमीको सट्टा बढ्दो छ । सामाजिक सञ्जालमा सर्वत्र छाएका ‘सीमान्त केसी’ भनिने मोरङका भरत भट्टराईले आँखाले हेरेकै भरमा बिरामीलाई निको पार्ने दाबी गर्दै आएका छन् । कार्यालय खोलेरै अन्धविश्वासको भ्रम छरेका उनी लामो समय टिकटकमा भाइरल बने । उनको उपचार केन्द्रमा पुग्नेको भीड थेगिनसक्नु बन्यो । 

रोगीसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाउँदै आएका उनले उपचार नगर्ने र गर्न नसक्ने केही पनि नभएको बताए । सर्वसाधारणले निमेषभरमा पत्याए । आँखाले हेरेको र तेल लगाएको भरमा बिरामी निको पार्ने भन्ने उनको दाबीमा नेपाल चिकित्सक संघले चर्को विरोध गर्दै विज्ञप्ति नै जारी गर्यो । प्रहरीले उनको राजधानीस्थित उपचार केन्द्रमा ताल्चा लगाइदियो ।

यस्तै ठगीधन्दा चलाउने एक जना ‘माता’ भक्तपुरको सिर्जनानगरमा बस्छिन् । माताले पनि सर्वसाधारणलाई ‘उल्लु’ बनाउने काम गर्दै आएकी छन् । जबकी तीन वर्षअगाडि उनको ठगीधन्दा छरपष्ट भएको थियो । त्यसपछि केही समय बन्द भएको उनको ठगीधन्दाको चहलपहल फेरि हुन थालेको छ । एक जना सञ्चारकर्मीले उनको झुठको भण्डाफोर गरेका थिए । ‘भगवान’ को नाममा राजधानीमै लुटको धन्दा मच्चाएको विषयले त्यतिबेला निकै चर्चा बटुलेको थियो ।
 
‘दैवी स्थान सत्या शक्ति माता’ को नाममा चर्चित माताको थानमा बुधबार र शनिबार विशेष मेला लाग्ने गरेको छ । भक्तजनको अचम्मको घुँइचो हुने गरेको छ । आफ्नोबारे धेरै कुरा बाहिर आएपछि उनको निवासमा छिर्न पहिलेभन्दा निकै कडाइ गरिएको छ । पहिले एउटा गेट थियो, अहिले तीन वटा बनाइएको छ । माताकोमा प्रवेश गर्नेले हरियो टीकादेखि हरियो लुगा लगाएकै हुनुपर्ने नियम बनाइएको छ । भव्य आलिशान घरमा सञ्चालित माताको थानमा छिर्न दुई हजार रुपैयाँको टिकट पहिल्यै लिनुपर्छ ।

 

धेरैले उनी माता भएकी र सबैको मनोकामना पूरा गर्छिन् भन्ने विश्वास गरेको देखिन्छ । स्थानीयका अनुसार माता भनिने ती महिला कटुञ्जेकी रैथाने विवाहित महिला हुन् । उनको माइती गुण्डुको किवाचोक हो । कुनै बेला त्यहिँ एउटा सानो चिया पसल सञ्चालन गर्दै आएकी उनले अहिले धर्मको नाममा व्यापार गरिरहेको सजिलै देख्न सकिन्छ ।

उनका श्रीमान् पहिले सूर्यविनायकमा साइकल मर्मतको काम गर्थे । हृदयाघातका कारण उनको मृत्यु भयो । ‘दुनियाँलाई निको बनाउने दाबी गर्दै आएकी माताले आफ्नै श्रीमानलाई त्यतिबेला किन बचाउन सकिनन् ? ठग्ने पनि हद हुन्छ नि !’, एक जना स्थानीयले भने । 

झण्डै दुई दशकदेखि सर्वसाधारणलाई अन्धविश्वासमा पार्दै आएकी उनले करोडौंको सम्पत्ति जोडेकी छन् । आफूमा साक्षात् भगवान रहेको दाबी गर्दै उनले आफ्नो नामसमेत ‘भगवान’ नै राखेको बताइन्छ ।

माताले ग्रहदशा कटाउने, रोजगारी लगाइदिने, उचाई बढाउने, धनसम्पत्ति आर्जन गर्ने, हराएको सामान फेला पार्नेलगायत उपाय बताउँछिन् । अहिलेसम्म सक्कली अनुहार नै नदेखेका व्यक्तिलाई आम नागरिकले माताको दर्जा दिएका छन् । माता भन्दै घरखेत गुमाउनेहरु पनि उत्तिकै भएको भक्तपुरका स्थानीयको भनाइ छ ।

माताको निवासभित्र हिजोआज मूर्तिलाई सजाएर राखिएको बताइन्छ । दुई हजार तिरेर छिरेकाले भनेका छन्, ‘त्यही मूर्ति बोल्ने गरेको छ । माइक जोडिएको छ वा अन्य कुनै सामग्रीबारे केही थाहा छैन । तर प्रश्न सकिन नपाउँदै माता धमाधम जवाफ दिन्छिन् । जस्तो प्रश्न सोध्यो, त्यस्तै उत्तर पाइन्छ ।’ केही अन्धविश्वासीले यसअघि जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा उजुरीसमेत दिएका थिए । प्रहरीले त्यसबेला क्षणिकको निम्ति माताको थान बन्द गरे पनि अहिले पुनः उही ठगीधन्दा मौलाएको बताइन्छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल आफूलाई यसबारे जानकारी नभएको बताउँछन् । धर्मको नाममा ठगीधन्दा चलाउन नपाइने उल्लेख गर्दै उनले यसलाई रोक्न आफू तत्काल ‘एक्सन’ मा जाने बताए । ‘मलाई यस विषयमा केही थाहा छैन । तर, धर्मको नाममा यसरी सर्वसाधारण ठग्न पाईंदैन,’ उनले भने, ‘हालसम्म हाम्रोमा कुनै उजुरी परेको छैन । उजुरी परेमा छानबिन गरेर तुरुन्त कारबाही गर्ने छौँ ।’

राजधानीमा नै अन्धविश्वासप्रति सर्वसाधारणको यति धेरै लगाव छ भने सुदूर ग्रामीण भेगको अवस्था कस्तो होला ? सरकारले धर्म र उपचारका नाममा भइरहेका यस्ता कुरीति रोक्न नसक्दा समाज बेतिथिको दलदलमा फस्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । अस्पताल लैजानु पर्नेलाई धाँमीझाँक्रीकोमा पुर्याउँदा भएको र हुने क्षति सबैले देखेको र अनुमान लगाउन कुनै गाह्रो छैन ।
 

टिप्पणीहरू