नेतालाई जनताको प्रश्नः हामी भोट बैँक मात्रै हौं र ?
पश्चिम मकवानपुरको मनहरीका भूमिहीन र अब्यवस्थित बसोबासीहरु आन्दोलित भएका छन् । उनीहरुले संघीय सांसद, प्रदेशका मन्त्री, स्थानीय सरकार प्रमुख र भूमि आयोगका प्रतिनिधिहरुलाई समेत बोलाएर भनेका छन्–‘के हामी भोट बैँक मात्र हौं ?’
मनहरीमा शनिबार सयौँको संख्यामा जम्मा भएका भूमिहीन तथा अब्यवस्थित बसोबासीहरुले ¥याली गर्दै अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा संघीय सांसद महेश कुमार बर्ताैला, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँ र स्थानीय सरकारका प्रमुखसहित ठूला राजनीतिक दलका जिल्लास्तरका नेताहरु सहभागी थिए ।
‘हामीलाई सदिऔँदेखि भोट बैँकको रुपमा प्रयोग गरिएको छ, अब लालपुर्जा दिने बेलामा फेरि पर्सा राष्ट्रिय निकुन्जले अबरोध खडा गरिदिएको छ’, भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिका तर्फबाट हरिचन्द्र शाही ठकुरीले प्रश्न गर्नुभयो–‘त्यसो हो भने अब तपाईहरुको राजनीति गर्ने फिल्ड यो होइन ।’
उहाँले संघीय सांसद, प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका प्रमुखहरुलाई समेत छुट्टाछुट्टै प्रश्न गर्नु भएको थियो । कार्यक्रममा संघीय सांसद महेश कुमार बर्ताैलाले आफूले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या समाधानका लागि माथिल्ला निकायहरुमा पहल गरिरहेको र आन्दोलनप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले पनि आफूले निर्वाचनमा दुईपटक जीत हासिल गरेको क्षेत्रका बासिन्दालाई लालपुर्जा दिलाउनका लागि नीतिगत सुधार गर्नका लागि दबाब सिर्जना गरिरहेको बताउनुभयो ।
भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिका अध्यक्ष क्षेत्रबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय भूमि आयोगका अध्यक्ष बिष्णुप्रसाद दाहाल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला लगायतले आन्दोलनप्रति प्रतिबद्धता ब्यक्त गर्दै मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


टिप्पणीहरू