उजुरीका लागि सिंहदरबार धाउन बाध्य बागलुङबासी

उजुरीका लागि सिंहदरबार धाउन बाध्य बागलुङबासी

‘गाउँगाउँमा सिंहदरबार’ भनिएपनि व्यवहारमा लागु हुन नसकेपछि आम नागरिक आफ्नो समस्या लिएर संघीय राजधानी आउनुपर्ने बाध्यता अझैपनि छ । जिल्ला प्रहरी कार्यालय, बागलुङले ठगीको उजुरी दर्ता गर्न नमानेपछि बागलुङबासीहरु गृह मन्त्रालय आइपुगेका छन् । 

ढोरपाटन नगरपालिकाका मेयर एवम् इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवकुमार नेपाली सयौं बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि भागेपछि आफ्नो पीडा बोकेर उनीहरु यहाँ आएका हुन् । प्रहरी कार्यालयका प्रमुख योगेन्द्रकुमार खड्काले प्रमाण हुँदाहुँदै पनि उजुरी दर्ता गर्न नमानेको पीडितहरुले बताएका छन् । 

तीनवटा पालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका मेयर नेपाली बचतकर्ताको करोडौं निक्षेप हिनामिना गरेर बेपत्ता भएका छन् । आफूले खाइनखाई जम्मा गरेको रकम जोखिममा परेपछि निक्षेपकर्ताहरु तनावमा आएका छन् । 

एक पीडितले भने, ‘सयौं बचतकर्ता ठगिएको विषय जानकारी गराउँदा पनि प्रहरीले उजुरी लिन नमानेपछि उनी भाग्न सफल भएका हुन् । प्रहरी प्रशासनकै सहयोगमा उनी फरार भए । प्रहरीले सहकारीको ठगी आफूले हेर्न नमिल्ने भन्दै बहाना बनायो । अहिले हाम्रो पैसा नै जोखिममा परेको छ ।’

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका बागलुङका युवाहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सहकारी विभागलगायतका सरोकारवाला निकायहरुलाई यसबारे जानकारी गराएका छन् । 

अभियानका संयोजक एकबहादुर केसीका अनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठले इमेजको ठगीबारे आफूलाई जानकारी भएको बताउँदै छिट्टै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

आम नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै ठगी गर्ने व्यक्तिलाई संरक्षण गरेको देखिएको उनको आरोप छ । गत वैशाख ९ गते सहकारीको ढोकामा सूचना टाँस्न लगाएर सम्पर्कविहीन भएका अध्यक्ष नेपाली हालसम्म पनि फेला परेका छैनन् । 

उनले बचतकर्ताहरुको करोडौं निक्षेप हिनामिना गरेर भागेको खबर बाहिरिएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाउँदै यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको छ । पत्रमा मेयर नेपालीसहित सहकारीका अन्य छ जना सञ्चालकको पनि यात्रा अनुमति रद्द गर्न विभागलाई भनिएको छ । 

सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाहीको पनि यात्रा अनुमति रद्द गर्न निर्देशन दिइएको हो ।

टिप्पणीहरू