विद्यालयहरुले असार १५ गतेभित्र आईएमआईएस अद्यावधिक गरिसक्नुपर्ने

विद्यालयहरुले असार १५ गतेभित्र आईएमआईएस अद्यावधिक गरिसक्नुपर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) अद्यावधिक गर्न निर्देशन दिएको छ । 

मुलुकभरका स्थानीय तहलाई आज परिपत्र गर्दै केन्द्रले सबै प्रकार र तहका विद्यालयलाई शैक्षिक सत्र २०८० को आईएमआईएस आगामी असार १५ गतेभित्र अद्यावधिक गर्न भनेको हो । 

विद्यालय शिक्षासँग सम्बन्धित तथ्यांक र सूचना बेवसाइट बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको संकलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रबोधीकरण र प्रकाशन गर्दै सोका आधारमा केन्द्रले योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्य गर्दै आएको छ । 

त्यस्तै, शैक्षिक सत्रको सुरु र अन्त्य गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गरिन्छ । 

केन्द्रले सूचना अद्यावधिक गर्दा मोन्टेरी र ईसीईडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आ-आफ्नो विद्यालयको एक्सल बेस्डको आईएमआईएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने जनाएको छ । 

कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयलाई पनि अनिवार्य रुपमा विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

टिप्पणीहरू