अब भाडाका बस बसपार्कबाट मात्रै छुट्ने, बाहिरका काउन्टर हटाइने

अब भाडाका बस बसपार्कबाट मात्रै छुट्ने, बाहिरका काउन्टर हटाइने

काठमाडौं उपत्यकाबाहिर चल्ने सम्पूर्ण यात्रुवाहक सवारी साधन अब गोगंबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने भएको छ । 

काठमाडौं महानगरपालिकाले उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा चल्ने यात्रुवाहक सवारीसाधन गोगंबुको नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । जथाभावी बस रोक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि महानगरपालिकाले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने पूराना नियमलाई कडाइका साथ लागू गर्न लागेको हो । 

महानगरपालिकाले आज सूचना जारी गर्दै अनधिकृत स्थानमा पार्किङ्ग गर्ने, सडक छेउ टिकट बुकिङ्ग काउन्टर राख्ने र सडकखण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको जनाएको छ । 

त्यसलाई मध्यनजर गर्दै महानगरपालिकाले बसपार्कबाहिर रहेका सबै टिकट काउण्टर हटाउने निर्णय गरेको छ । आगामी असार १ गतेदेखि बसपार्कबाहिर रहेका टिकट काउण्टर सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ । 

त्यस्तै, धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनहरुलाई कंलकीदेखि जडीबुटीसम्म रोक्न निषेध गरिएको छ । महानगरपालिकाले सूचनाको बर्खिलाप गर्नेलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौंमा दैनिक करिब सात सयको संख्यामा सवारी साधन प्रवेश गर्छन् र त्यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्ने क्षमता छ । त्यसैगरी, अहिले गौशाला, चाबहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन् ।
 

टिप्पणीहरू