भिआइपीहरुको ध्यान मोबाइलतिर भसक्कै

भिआइपीहरुको ध्यान मोबाइलतिर भसक्कै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा उठाइएका र बोलिएका विषयलाई लिएर आज संसद बैठकमा चर्काचर्की परेको छ । हिजोको बैठक स्थगित भएपछि आज सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले नागरिकता विधेयक प्रमाणीकरण र लिपुलेक तथा लिम्पियाधुराको सट्टा भारतले नेपाललाई बंगलादेशसम्म पुग्न एउटा धर्सो जमिन दिने भन्ने प्रधानमन्त्रीको भनाईको पक्ष र विपक्षमा आवाज उठाएका छन् । 

तर, उक्त भ्रमणको क्रममा सामाजिक सञ्जालमा देखिएका अन्य विषय र तस्बिर तथा भिडियो पनि कम रोचक छैनन् । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको दोस्रो दिन गत बिहीबार बिहान नयाँ दिल्लीको राजघाट जानुभएको थियो । महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त गर्न जाँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुले फोटो पत्रकारले झैँ मोबाइल झिकेर लहरै फोटो खिचेको विषयलाई कूटनीतिक वृत्तले ‘लाजमर्दो’ भनी टिप्पणी गरेको छ ।

यता प्रधानमन्त्री शनिबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका भिआइपीहरुको पनि उही ताल देखियो । प्रधानमन्त्री सवार नेपाल वायुसेवाको जहाज  विमानस्थलमा अवतरण भएलगत्तै स्वागतमा उभिएका भिआइपीहरुले कोटको खल्तीबाट मोबाइल झिकेर खिचेको भिडियो र फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । 

त्यस क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,  परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्साललगायतले विमानस्थलमा स्वागतको लाइनमा उभिँदा मोबाइल झिकेर गफिँदै फोटो तथा भिडियो कैद गरेका दृश्यमा पनि धेरैले रमाइलो मानेका छन् ।

टिप्पणीहरू