ड्रोन बोकी कुद्न थाल्यो सेना

ड्रोन बोकी कुद्न थाल्यो सेना

नेपाली सेनाको कालीजंग गण धुलिखेलले ‘ड्रोन’को माध्यमबाट विपद्मा परेकाहरूको उद्दार गर्ने भएको छ । गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले विपद्को खबर आएलगत्तै ‘ड्रोन’को माध्यमबाट आवश्यक पर्ने सामग्री अर्थात् उद्धारको प्रकृतिको अभ्यास गरिएको बताए । 

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लामा हुन सक्ने विपद्को अभ्यासले नागरिकहरूलाई थप हौसला प्रदान गरेको बताए । विपदमा सेना, सशस्त्र र नेपाल प्रहरीले ज्यानको बाजी राखेर भए पनि नागरिकलाई बचाउने साहसिक अभियानमा महत्वपूर्ण योगदान दिन सक्ने हौसला प्राप्त भएको उनको ठहर थियो । 

भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले स्थानीय सरकारसँग बजेट भए पनि विपद्का लागि आवश्यक सीप, जनशक्ति र सामग्रीसमेत नहुने भएकाले वडा स्तरमा यस्ता अभ्यास र तयारी आवश्यक रहेको बताए । बाहिनीपति सहायकरथी सुनिल घलेले काभ्रेपलाञ्चोक जिल्लामा विगतमा भएका विपद्बाट पाठ सिक्दै मनसुनमा हुन सक्ने विपद्बारे तयारी गर्न अभ्यास महत्वपूर्ण भएको बताए । 

उपत्यका पृतनापति सागरबहादुर थापाले अभ्यासमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका ब्यक्तिहरूलाई विपद् द्रुत प्रतिकार्य किताब २०८० स्थानीय सरकार र सरोकारवालालाई हस्तान्तरण गरेका थिए । सम्भवतः नेपालमै पहिलो पटक उक्त गणले जिल्लाका सबै पालिका र सरोकारवालालाई विपद् द्रुत प्रतिकार्य किताब २०८० पुस्तक उपलब्ध गराउँदै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू