एमालेका ठूला नेता नै काम गर्दैनन्, लाभ पाउनेहरु झन असन्तुष्ट

एमालेका ठूला नेता नै काम गर्दैनन्, लाभ पाउनेहरु झन असन्तुष्ट

नेकपा एमालेले नेता-कार्यकर्तामा रहेको अहंकारी सोच तथा व्यक्तिवादी चिन्तनका कारण पार्टीको आन्तरिक जीवन चुनौतिपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निचोड निकालेको हो । 

वैशाख २८-३० मा सम्पन्न बैठकका निर्णयबारे जानकारी तथा कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा कमिटी प्रणाली निरन्तर कमजोर हुँदै जाँदा पार्टीमा व्यक्तिवादी प्रवृत्ति भने बढिरहेको उल्लेख छ । यसलाई एमालेले पार्टीको आन्तरिक जीवनको मुख्य चुनौतीका रुपमा लिएको छ । 

पार्टीको तीन महिने 'मिसन ग्रासरुट' अभियानको समीक्षा गर्ने क्रममा एमालेले निर्वाचनमा उम्मेदवार चयन प्रक्रियादेखि पार्टीको जिम्मेवारी पूरा गर्नेसम्मको भूमिका र जिम्मेवारीमा नेताहरुमा व्यक्ति केन्द्रित कार्यशैली देखिएको बताएको हो । 

'निर्वाचनमा गरिएको प्रतिबध्दता कार्यान्वयन हुन नसकेको भन्ने जनसमुदायबाट व्यापक प्रश्न उठेको र विगतमा जिम्मेवारी पाएका र लाभको पदमा रहेकाहरुले नै बढी गुनासो गर्ने गरेको देखियो', पार्टीभित्रका विभिन्न चुनौती र समस्या पहिचान उपशीर्षकअन्तर्गत अपानिमा लेखिएको छ ।

"निर्वाचन प्रणाली अत्यन्त खर्चिलो हुँदा सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरु ऋणमा रहेकाले विकल्प खोज्नुपर्नेमा एमाले पुगेको हो ।''

त्यस्तै,कतिपय नेता तथा कार्यकर्तामा जनतासँगको सम्बन्ध राम्रो नहुँदा सामाजिक सत्तामा पार्टीको वर्चस्व कायम हुन नसकेको,जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता नदेखिएको र सदस्यहरुले आफ्नो विज्ञता र क्षमताअनुरुप उपयुक्त जिम्मवारी नपाएको कुरा मिसन ग्रासरुटका क्रममा बाहिर आएको बताइएको छ । 

मिसन ग्रासरुट अभियानमा केन्द्रीय जिम्मेवारी पाएका केही नेताले तोकिएको जिम्मेवारी र काम पूर्णरुपमा सम्पन्न गर्न नगरेको पनि एमालेको ठहर छ । 'प्रदेश र जिल्ला तहबाट नेतृत्व लिने केही कमरेडहरु कार्यक्षेत्र पुग्न नसकेको समेत पाइयो', अध्यक्षले कार्यान्वयनका लागि तल्ला कमिटीलाई पठाएको सर्कुलरमा भनिएको छ ।

'एकै व्यक्तिले संसदीय फाँट र पार्टीको सङ्गठन सञ्चालन गर्न खोज्दा कठिनाइ भएको पाइयो । कमिटीका साथीहरुको अभियानमा उपस्थिति कमजोर,सुरुमा आउने, तर अन्तिमसम्म बस्न नसकेको देखियो । कतिपय पालिकामा समीक्षा अवधिसम्ममा समेत अभियान समापन हुन सकेको देखिएन',अपानिमा उल्लेख छ ।

एमालेले पार्टीमा युवाहरुको आकर्षण बढाउन नसकेको स्वीकार गर्दै आगामी दिनमा यसबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोडसमेत दिएको छ । अभियानमा युवाहरुको उपस्थिति कतिपय ठाउँमा नगन्य रहेको र पार्टी सङ्गठनमा समेत युवा सहभागिता न्यून रहेको अपानिमा स्वीकारिएको छ । युवाहरुलाई पार्टीमा सङ्गठित गर्दै परिचालित गर्ने र जिम्मेवारी दिने विषय अबको मुख्य कार्यभार हुनुपर्नेमा पनि जोड दिइएको छ ।

पार्टी सङ्गठन संरचना ठूलो भएका कारण सबै सदस्यलाई परिभाषित काम तथा जिम्मेवारी दिन नसकिएको र जिम्मेवारी प्राप्त सदस्यबाट समेत काम हुन नसकेको एमाले केन्द्रीय समिति बैठकको समीक्षा छ ।

एमालेमा हाल विद्यमान मिश्रित निर्वाचन प्रणालीको विकल्प खोज्नुपर्ने आवाज पनि उठेको छ । निर्वाचन प्रणाली अत्यन्त खर्चिलो हुँदा सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरु ऋणमा रहेकाले विकल्प खोज्नुपर्नेमा एमाले पुगेको हो । निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने सुझाव मिसन ग्रासरुटका क्रममा प्रायः सबै प्रतिनिधिको रहेको अध्यक्षले जारी गरेको अपानिमा उल्लेख छ ।

टिप्पणीहरू