सानु र सुरेन्द्रको सल्लाह,‘एकअर्काको विरोध गरेर अघि बढ्नुपर्छ’

सानु र सुरेन्द्रको सल्लाह,‘एकअर्काको विरोध गरेर अघि बढ्नुपर्छ’

मान्छे कतिसम्म दोग्ला र दुई नम्बरी हुन सक्छन् ? भन्ने उदाहरण हुन् सुरेन्द्रराज दाहाल । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधिक कार्यमा नाम जोडिएपछि आफूलाई चोखो साबित गर्न ढोंग रचेका उनको असली रुप छताछुल्ल पार्ने अडियो फेला परेको छ । 

गिरोहले थमाएको फाइल सदर नगर्दा आफूलाई सरुवा गरिएको भन्दै मिडियाबाजी गर्ने तत्कालीन नायब सुब्बा दाहालले त्यसबेला झापामा शरणार्थी समन्वय अधिकृतको रुपमा शिविर रेखदेख र अभिलेख राख्ने जिम्मेवारी पाएका थिए । राष्ट्रियताको भक्तिगान गाउने उनी नेपालीलाई शरणार्थी बनाउने कार्यमा पक्राउ परेको गिरोहको ‘मास्टरमाइन्ड’ रहेको खुलेको छ । 

कानुनको पक्षमा उभिँदा आफ्नो ग्रहदशा शुरु भएको बताउँदै आएका उनले भेरिफिकेशनको नाममा नक्कली शरणार्थीको नाम छिराउने गरेको पुष्टि भएको छ । भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि गठित कार्यदलले बुझाएको फाइलबारे आफूलाई केही जानकारी नभएको दाबी गर्ने उनले उक्त फाइल आफ्नो घरमा लगेकोसमेत स्वीकारेका छन् । 

नक्कली भुटानी शरणार्थी बनाउने काण्डका मुख्य योजनाकार सानु भण्डारी र दाहालबीचको संवादले उनीहरुको सारा कर्तुत छर्लङ्ग पार्छ । यस प्रकरणका खास खेलाडी दाहालकै मिलेमतोमा नक्कली भुटानीको विवरण उथलपुथल पार्न सम्भव भएको पनि प्रमाणित हुन्छ ।

‘के हुँदैछ भनेर उनीहरुले सोधे भने हुँदैछ मात्र भन्नु । हाम्रा भएका इन्टरनल कुराहरु बाहिर आउनु भनेको हामी सक्किनु हो । हामीले यिनीहरुलाई एक ईञ्च पछाडिपछाडि लिएर हिँड्नुपर्छ । हाम्रा इन्टर्नल कुरा के छ भने तपाईंले हाम्रो विरोध गर्न मिल्यो, हामीले तपाईको विरोध गर्न मिल्यो । दाजुभाइको कुरालाई विचार गर्नुपर्यो । उनीहरुले भनेजस्तो कहाँ हुन्छ ? तपाईंले भन्ने । त्यो त फटयाहा रहेछ भनेर हामी भन्छौं । त्यसअनुसारले काम टुंग्याउनुपर्छ’, भण्डारीले भनेका छन् ।

फाइलको विषयमा संवादको क्रममा दाहाल भन्छन्,‘जम्मा ढड्डा कोसंग छभन्दा तपाईं, दुलालसंग र एउटा ढड्डा मसंग छ । त्यो मेरो ढड्डा हुँदै होइन । उसले ओरिजिनल ढड्डा बोकेर ल्यायो । उसले यो के हो भनेर सोध्यो । मैले चपाएरै बोलेको छु । त्यो ढड्डा कहाँबाट आयो भन्नु त ?’, जवाफमा सानुले भन्छन्,‘रामराम,म त पागल भएँ ।’

त्यस्तै,दाहालले केशव दुलाल र भण्डारीकै कारण आफ्नो ताप्लेजुङ सरुवा हुनबाट रोकिएको विषय पनि संवादमा खुलाएका छन् । उनले भण्डारीलाई भनेका छन्,‘हिजो मेरो ताप्लेजुङ साप्लेजुङ सरुवा गराउँदा रोक्ने पनि यिनै हुन् ।’

उनले दाहाललाई आफ्नो,दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मात्र कुरा मान्न र संगसंगै दोहोर्याएर अघि बढ्न अनुरोध पनि गरेका छन् । गिरोहका अन्य टोलीले आफ्नो काण्ड ‘एक्सपोज’ गरिदिन सक्ने भन्दै भण्डारीले दाहाललाई एकअर्कालाई ‘फटाहा’ भनेर आरोप प्रत्यारोप लगाउँदै अन्य सदस्यलाई थाहा नहुनेगरी अघि बढ्नुपर्ने भनी सिकाइरहेको अडियोमा सुनिन्छ । 

‘के हुँदैछ भनेर उनीहरुले सोधे भने हुँदैछ मात्र भन्नु । हाम्रा भएका इन्टरनल कुराहरु बाहिर आउनु भनेको हामी सक्किनु हो । हामीले यिनीहरुलाई एक ईञ्च पछाडि पछाडि लिएर हिँड्नुपर्छ । हाम्रा इन्टरनल कुरा के छ भने तपाईंले हाम्रो विरोध गर्न मिल्यो,हामीले तपाईंको विरोध गर्न मिल्यो । दाजुभाइको कुरालाई विचार गर्नुपर्यो । उनीहरुले भनेजस्तो कहाँ हुन्छ ? तपाईंले भन्ने । त्यो त फटाहा रहेछ भनेर हामी भन्छौं । त्यसअनुसारले काम टुंग्याउनुपर्छ’,भण्डारीले भनेका छन् ।

टिप्पणीहरू