राष्ट्र बैंकले हवाई टिकट उपलब्ध गराउने ट्राभल एजेन्सी खोज्यो
नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षका लागि हवाई टिकट उपलब्ध गराउने प्रयोजनका लागि आवेदन मागेको छ ।
बैंकले आर्थिक वर्ष २०८०–८१ मा आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ट्राभल एजेन्सीहरुलाई १५ दिनभित्र आवेदन दिन सूचित गरेको छ । बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग) मा सूचीकृत हुनसमेत बैंकले सम्बन्धित कम्पनीहरुलाई आह्वान गरेको छ ।
प्रकाशित सूचनामा भनिएको छ, ‘आगामी आव २०८०–८१ मा आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक इजाजतप्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता–ट्राभल एजेन्सीहरुले आवेदन फाराममा तोकिएका योग्यतासहितका कागजातहरु समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस बैंकको केन्द्रीय कार्यालय सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग लिष्ट) मा सूचीकृत हुन नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधनसहित) को विनियम १८ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’
आवेदन फाराम तथा मौजुदा सूचीसँग अन्य आवश्यक विवरण बैंकको वेबसाइटमा राखिएको जानकारी गर्दै सूचनामा आवेदन फाराममा उल्लेखित विवरण तथा योग्यताका कागजात पेश नभएमा वा तोकिएका योग्यता नपुगेका आवेदनकर्तालाई मौजुदा सूचीमा समावेश नगरिने उल्लेख गरिएको छ ।
टिप्पणीहरू