पत्रकार महासंघको कार्यालयमा प्रेस युनियनको ताला

पत्रकार महासंघको कार्यालयमा प्रेस युनियनको ताला

नेपाल प्रेस युनियन, बाग्लुङले नेपाल पत्रकार महासंघ, बाग्लुङ शाखामा तालाबन्दी गरेको छ । जिल्ला अध्यक्ष नरेश कँडेलसँग समन्वय नै नगरी पत्रकार महासंघको केन्द्रीय समितिले विधानविपरीत उपाध्यक्ष नवीन शिशिर विकलाई कार्यवाहक अध्यक्ष बनाएको विरोधमा आज तालाबन्दी गरिएको हो । 

कार्यवाहकको जिम्मेवारी दिने अधिकार स्वयम् अध्यक्षमा नै निहित हुने व्यवस्था रहेको उल्लेख गर्दै युनियनले केन्द्रीय समितिले गरेको कार्यप्रति ध्यानाकर्षण भएको बताएको छ । केन्द्रीय समितिले गरेको निर्णयले विवाद चर्किंदै गएको युनियनको ठहर छ । विवाद निरुपणका लागि पटकपटक केन्द्रीय समिति र प्रदेशमा लिखित र मौखिक आग्रह गर्दापनि कुनै सुनुवाई हुन नसकेको युनियनको गुनासो छ । 

‘नेपाल पत्रकार महासंघको विधानविपरीत दिएको कार्यवाहकको जिम्मेवारी फिर्ता लिन, कीर्ते निर्णय गरेर केन्द्रलाई पत्राचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधानअनुसार सञ्चालन गर्न नसकेपछि नेपाल प्रेस युनियन बाग्लुङले निकासका लागि नेपाल पत्रकार महासंघ, बाग्लुङमा ताला लगाउन बाध्य भएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, युनियनले विवाद समाधान गर्नुको सट्टा थप विवाद बल्झाउने गरी कुनै प्रकारको निर्णय भए कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ । बाग्लुङ शाखाका अध्यक्ष कँडेल उद्योग, वाणिज्य संघ, बाग्लुङको अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय समितिले गत जेठ २१ गते कार्यवाहक अध्यक्षको जिम्मा विकलाई दिएको थियो ।

टिप्पणीहरू