पूर्वमन्त्रीलाई बहालरतको चेतावनी : बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पूर्वपर्यटनमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई ‘मुख सम्हालेर बोल्न’ चेतावनी दिनुभएको छ ।
आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाएको आरोप लगाएपछि जवाफ फर्काउँदै किराँतीले बारुदको पहाडमा बसेर सलाई नखेलाउन चेतावनी दिनुभएको हो ।
‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नुपर्छ भन्ने मात्र जान्दछु’, उहाँले सामाजिक सञ्जालमा लेखेर उक्त चेतावनी दिनुभएको हो ।
आफ्ना कमजोरी लुकाउन आलेले अनावश्यक आरोप लगाएको मन्त्री किराँतीको भनाई छ । भनिएको छ, ‘पुर्खाले भन्थे– आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’
यसअघि आज बिहान संसद बैठकमा बोल्दै अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर किराँतीप्रति व्यंग्य गरिएको थियो ।
टिप्पणीहरू