चीन-अमेरिका वार्ता-फेब्रुअरीमा रद्ध,अब सुचारु

चीन-अमेरिका वार्ता-फेब्रुअरीमा रद्ध,अब सुचारु

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने भ्रमणका निम्ति आइतबार बेइजिङ पुग्दैछन् । केही समयदेखि दुई मुलुकबीच बढ्दो तनावको वीच हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

ब्लिन्केनले यसअघि फेब्रुअरीमा चीन भ्रमण एक दिनअगाडि रद्ध गरेका थिए । उनले विदेशमन्त्रीको जिम्मेवारी सम्हालेयता  हुन लागेको यो भ्रमण पहिलो हो ।यसक्रममा चिनियाँ राष्ट्रपतिसँग भेटघाट हुने वा नहुनेबारे केही बताइएको छैन ।

अमेरिकी अधिकारीहरुले विदेशमन्त्री ब्लिन्केनको भ्रमणले आगामी नोभेम्बरमा हुने राष्ट्रपति सि जिनपिङको सान फ्रान्सिस्को भ्रमणलाई मार्ग प्रशस्त गर्ने जनाएका छन् । नोभेम्बरमा सान फ्रान्सिस्कोमा एसिया–प्रशान्त आर्थिक सहयोग समूहमा आवद्ध राष्ट्रहरुको सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी हुनेछन् ।

विदेशमन्त्री फर्केपछि अमेरिकी अर्थमन्त्री जनेट येलेन बेइजिङ्ग जाने सम्भावना रहेको न्युयोर्क टाइम्सले जनाएको छ । झण्डै डेढ वर्षदेखि दुई पक्षीय सम्बन्धमा तनाव बढेपछि चिनियाँ पक्षले चीन मामिलामा अमेरिकाले दोहोरो मापदण्ड अपनाउँदै आएको आरोप लगाएको छ । उसले अमेरिकामाथि ‘नयाँ शीत युद्धको मानसिकता’ बोकेको संज्ञा दिएको छ । 

यता,औपचारिक भ्रमणसँगै अमेरिकाबाट अनौपचारिक विशिष्ट व्यक्तिहरु पनि यसबीच चीन पुगेका छन् । गत मे महिनामा विश्वका सबैभन्दा धनी अमेरिकी नागरिक एलन मस्कले बेइजिङ पुगेर विदेशमन्त्री छिन् गाङलगायत उच्च अधिकारीहरुसँग भेट गरेका थिए । 

विश्वको चौथो धनी बिल गेट्सले पनि आफू अस्ति बुधबार बेइजिङ पुगेको ट्विट गर्दै राष्ट्रपति सिसँग आज भेटघाट हुने जानकारी दिएका छन् । तर,विदेशमन्त्री ब्लिन्केन र राष्ट्रपति सिबीच भेटघाट अझै तय नभइसकेको बताइन्छ ।

टिप्पणीहरू