समाजवादी मोर्चा घोषणा पछि सर्यो,  नेकपा एस सामेल हुने

समाजवादी मोर्चा घोषणा पछि सर्यो,  नेकपा एस सामेल हुने

नेकपा माओवादी केन्द्रसहितका वामपन्थी पार्टीहरुको समाजवादी मोर्चा घोषणा आज नहुने भएको छ । दलहरुले आन्तरिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मोर्चा घोषणा केहीदिन पछाडि सारेका हुन् । 

मोर्चाबारे निर्णय गर्न बसेको एकीकृत समाजवादीको बैठकपछि सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एक-दुई दिनमा मोर्चा घोषणा हुने जानकारी दिनुभयो । आफ्नो पार्टी मोर्चामा सामेल हुने र त्यसका लागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको पनि उहाँले बताउनुभयो । 

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी सहभागी हुने बताइएको छ । तर, पार्टीहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन् । 

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच यस विषयमा कुराकानी भएको छ । बालुवाटार पुगेर प्रधानमन्त्री भेटेपछि डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी जुटेको जानकारी दिनुभएको छ ।
 

टिप्पणीहरू