पूर्वमा बाढी र पहिरोको वितण्डा : दर्जनौं बेपत्ता, केहीको शव फेला

पूर्वमा बाढी र पहिरोको वितण्डा : दर्जनौं बेपत्ता, केहीको शव फेला

अविरल वर्षापछि पूर्वका पाँचथर, संखुवासभा र ताप्लेजुङमा ठूलो क्षति भएको छ । गएराति आएको बाढीमा परेर पाँचथरमा छ जना बेपत्ता भएका छन् । 

हेवा खोलाको बाढीमा हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित छ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

बाढीले मेची राजमार्गको हेवा खोलाको एउटा पुल पनि बगाएको छ । फालेलुङ गाउँपालिकामा दुई वटा सडकसँगै एउटा झोलुङगे पुल पनि बगाएको छ । प्रहरीका अनुसार याङवरक गाउँपालिकामा घर बगाएको खबर आएको छ ।

उता संखुवासभामा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका ५ मा बाढी बगाएर ल्याएको एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि हेँवामा बाढी आएको हो । 

उक्त बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा ठूूलो क्षति पुगेको छ । उक्त परियोजनामा कार्यरत १७ मजदूर सम्पर्कविहीन रहेको बताइएको छ । सर्वसाधारणका चार वटा घर बगाएको छ ।

ताप्लेजुङमा बाढीले तीन घर र खोला किनारको खेत बगाएको छ । केही पशुचौपायासमेत बगाएको प्रहरीले जानकारी दिएको छ । इङ्वाखोला जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । मैवाखोलामा आएको बाढीले पनि ठूलै क्षति पुर्याएको बताइएको छ । 

सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा गएको पहिरोमा एउटै परिवारका तीन जना बेपत्ता छन् । पहिरोमा यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । भरत तामाङ पनि बेपत्ता भएको बताइएको छ ।

टिप्पणीहरू