समाजवादी मोर्चाको साझा सहमति के रहेछ ?
लामो समयदेखि चर्चामा रहेको समाजवादी मोर्चा गठनको प्रयासले अन्तत: औपचारिकता पाउने भएको छ । आज राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी मोर्चा घोषणा हुँदैछ ।
समाजवादी मोर्चामा माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा),एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सदस्य रहने निश्चित भएको छ । त्यस्तै,बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा सामेल हुने बताइएको छ ।
हिजो बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले मोर्चाको अवधारणा, उद्धेश्य, संगठनात्मक संरचनाबारे सहमति जुटाएका थिए । सहमतिअनुसार मोर्चाको नेतृत्व घटक दलहरुले आलोपालोका आधारमा गर्नेछन् भने आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा पनि बिस्तार गर्दै जाने बताइएको छ ।
दैनिक कार्य संचालन गर्न कार्यसम्पादन समिति गठन गर्ने र सो समितिमा सदस्य दलहरुबाट तोकिएबमोजिमका प्रतिनिधिहरु रहने जनाइएको छ ।
सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको छ । सो उद्देश्य प्राप्तिका लागि घटक दलहरुले १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको पहिलो उद्धेश्य रहेको छ । त्यस्तै, नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्न प्रयत्न गर्ने । राजनीतिक, आर्थिक र सामाजिक रुपले बहिष्करणमा परेका जाति, वर्ग, समुदायको पहिचानको मान्यता, समावेशीकरण, र समाजिक न्यायको प्रत्याभूति गराउन काम गर्ने मोर्चाका घटकहरुको साझा प्रतिवद्धता छ ।
जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने पनि प्रतिवद्धता जनाइएको छ । त्यसैगरी, सार्वजनिक, सहकारी र निजि क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक तथा क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ-राजनीति व्यवस्था अवलम्बन गर्ने। देशको अर्थ व्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने मोर्चाको अर्को प्रतिवद्धता छ ।
मोर्चाको अर्को प्रतिवद्धतामा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने । गरिबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने रहेको छ ।
कृषिको औद्योगीकरण, व्यवसायिकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, उर्जा, जलश्रोत, बन, उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकको रूपमा विकास गर्ने कुरामा पनि मोर्चामा आवद्ध घटकहरुले साझा प्रतिवद्धता जनाएका छन् ।
शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने । सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने । शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने मोर्चाको अर्को प्रतिवद्धता छ ।
त्यसैगरी, जलवायु परिवर्तन, वातावरणीय प्रदुषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने, गुणस्तरीय सेवाप्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, समग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने कुरालाई पनि प्राथमिकताका साथ उठाईएको छ ।
सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरू बीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यकातर्फबाट प्रदानगरिने सेवा सुविधाहरू जनतामा पुर्याउन प्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने कुरामा पनि मोर्चाको प्रतिवद्धता छ ।
देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षागर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने मोर्चाको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता/कार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने कुरा पनि प्रतिवद्धता पत्रमा समावेश छ ।
त्यस्तै, समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र बैज्ञानिक संस्कृति प्रवर्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवर्धन गर्ने र प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्नेमा पनि मोर्चाका घटकहरु साझारुपमा सहमत भएका छन् ।
समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने, श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने तथा श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने मोर्चाको नीतिगत प्रतिवद्धता छ ।





टिप्पणीहरू