नबिलले कुछ गर्छ,कुरा फेर्छ,राष्ट्र बैंक टोलाएर हेर्छ

नबिलले कुछ गर्छ,कुरा फेर्छ,राष्ट्र बैंक टोलाएर हेर्छ

नबिल बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनलाई धेरै पटक दिउँसै रात पारेको पाइएको छ । पछिल्लो पटक डेबिट कार्ड वितरणमा नियमविपरित शुल्क लगाएपछि केन्द्रीय बैंकका एक जना अधिकृतले नबिल बैंक र राष्ट्र बैंकमा उजुर गरेका थिए । तर,नियमनकारी निकायसमेत नबिल बैंकको दादागिरी सामुन्ने लुत्रुक्क परेपछि उनले सामाजिक सञ्जाल रंगाएका छन् ।

जबकि राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले विद्युतीय कार्ड तथा वित्तीय सेवा शुल्कसम्बन्धी व्यवस्था गरेको छ । प्रचलित नियमानुसार त्यस्ता कार्डको शुल्कमा पनपच्छे गर्न पाईंदैन । केन्द्रीय बैंकबाट अवकाशप्राप्त अधिकृत भुवन बस्नेतले नबिलको उक्त बदमासीबारे प्रमाणसहित कारबाहीको लागि सार्वजनिक निवेदन पेश गरेको बैंकका कर्मचारीहरुले बताए । केन्द्रीय बैंकको ध्यानाकर्षण गराउन सामाजिक सञ्जालमा नबिलको बदमासी र राष्ट्र बैंकको सूचना पोष्ट गर्नुपरेको उनको भनाई छ ।

प्राप्त जानकारीअनुसार नबिल बैंकको सामाखुशी शाखामा बस्नेतकी श्रीमती र छोराको डेबिट कार्ड जारी गर्ने क्रममा शुल्क विवाद भएको थियो । श्रीमती र छोराको डेबिट कार्ड शुल्कमा नबिलले विभेद गरेको पाइएसङ्गै उनले केन्द्रीय बैंकको कार्ड शुल्कको सूचना देखाएका हुन् । बस्नेतले नबिलका सिईओ ज्ञानेन्द्र ढुंगानालाई जानकारी गराउँदा पनि टेरपुच्छर लगाएनन् । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण, नियमन तथा भुक्तानी प्रणाली विभागमा औपचारिक जानकारी गराउँदा पनि कुनै प्रक्रिया अघि बढेको छैन । 

यसअघि नबिलको सञ्चालक समितिमा विनोद चौधरीका छोरा निर्वाणलाई उपाध्यक्ष बनाइएको थियो । सञ्चारमाध्यममा चर्को विरोध भएपछि नबिलले बाध्य भएर वेवसाइटमा चौधरीका छोरालाई बोर्ड सदस्य मात्र उल्लेख गरेको हो । तर, राष्ट्र बैंकले प्रचलित नियम, कानुन र निर्देशन विपरित हुनेगरी मारवाडीका बाउछोराले गरेको उक्त बदमासी र हर्कतबारे कारवाही त धेरै टाढा, कुनै सोधनीसमेत गर्ने आवश्यकता नदेखेको हो ।

टिप्पणीहरू