बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो, २६ जना बेपत्ता
पूर्वी नेपालमा आएको बाढी र पहिरोबाट १० जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार रातिदेखिको अविरल वर्षाका कारण ६ जना घाइते भएको र ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभयो ।
बाढीपहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ । गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एकभन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने पनि संसदलाई जानकारी दिनुभएको छ ।
घरबारविहीन परिवारलाई तत्काल गुजाराको लागि १५ देखि २० हजार रुपैयाँ राहत दिने व्यवस्था पनि उक्त मापदण्डमा रहेको जनाइएको छ ।
टिप्पणीहरू