डुबेको सहकारीले पूर्वसभामुख ओनसरीलाई पनि डाम्दै

डुबेको सहकारीले पूर्वसभामुख ओनसरीलाई पनि डाम्दै

पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीलाई धन जमानी बसेर लिइएको ऋण चुक्ता गर्न सहकारीले ताकेता गरेको छ । घर्तीका नाममा ललितपुर,पुल्चोकको लालीगुराँस बहुउध्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिने सूचना जारी गरेको छ ।

यसअघि २१ दिने सूचना जारी गरे पनि ऋणीले कर्जा चुक्ता नगरेपछि आज ऋणीसहित धनजमानी बसेकी घर्तीको तीन पुस्ते खुलाएर पत्रिकामा सूचना प्रकाशित गरिएको हो । ओनसरीले केशव रावललाई व्यक्तिगत जमानतमा कर्जा दिलाएकी थिइन् ।

काठमाडौंको बालुवाटार बस्ने रोल्पाको तत्कालीन जँकोट गाविसकी घर्तीले नागरिकता र पदीय मर्यादामा व्यक्तिगत जमानी दिलाएको सहकारीले जनाएको छ । उनले रुकुम घर भई नयाँ बानेश्वर बस्ने ३४ वर्षे केशव रावललाई कर्जा दिलाएकी थिइन् ।

सूचनामा भनिएको छ, ‘यस सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थालाई बुझाउनुपर्ने बाँकी रहेको सम्पूर्ण रकमसमेत चुक्ता गर्नुहोला । अन्यथा,ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल अचल सम्पत्तिहरुबाट र कानुनबमोजिम निजहरुको घर घरानाबाट समेत असुल उपर गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

टिप्पणीहरू