मदन भण्डारीको जस्तै रहस्यमय मृत्यु
सुभाषचन्द्र बोस भारतको स्वाधीन संघर्षका एक अग्रज नेता । द्वितीय विश्वयुद्धताका अंग्रेजहरूसित लड्न जापानसित सहयोग मागे र आजाद हिन्द फौज गठन गरे । भारतीयहरू आज पनि ‘जय हिन्द’ को नारा लगाउने गर्छन्, यो नारा उनैले पहिलोचोटि उठाएका हुन् जुन पछि भारतको राष्ट्रिय नारा बन्न पुग्यो । ‘तुम मुझे खुन दो त मैं तुम्हे आजादी दु¨ा’ यो नारा उराल्नेबित्तिकै सबैले उनै सुभाषचन्द्र बोसलाई सम्झन्छन् । भारतीय जनता उनलाई ‘नेताजी’ भन्न मन पराउँछन् । केही इतिहासकारको दाबी छ कि जापान र जर्मनीसँग सहायता लिने कोसिस गरेकै कारण ब्रिटिश सरकारले आफ्ना गुपचरहरूमार्फत सन् १९४१ मा उनको हत्या गर्ने योजनासमेत बुनेको थियो । सन् १९४३ को अक्टोबर २१ मा उनले आजाद हिन्द फौजका सर्वोच्च कमाण्डरको हैसियतले स्वतन्त्र भारतको अस्थायी सरकार गठन गरे, जसलाई जर्मनी, जापान, फिलिपिन्स, कोरिया, चीन, इटली, मञ्चुको र आयरल्याण्डलगायत ११ वटा मुलुकले तत्काल मान्यता दिए । जापानले त अण्डमान र निकोबार द्वीपसमूह यसै अस्थायी सरकारलाई सुम्पिदियो । इटलीका खुंखार नेता बेनिटो मुसोलिनी र दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगेको बेला सन् १९४२ को मे २९ मा जर्मनीका खुंखार नेता एडोल्फ हिटलरसित भेटेका उनी र महात्मा गान्धीमध्ये भारत स्वतन्त्रतामा कसको योगदान बढिरहेछ भन्ने विवाद भारतीय जनताले आजपर्यन्त गरिरहन्छन् ।
सुभाषले जीवनमा ११ पटक कारावासको सजायँ भोगे । पछिल्लोपटक सन् १९३२ कोे जेल बसाइकै क्रममा सिकिस्त बिरामी परेपछि भारतमा राजकाज चलाई बसेको ब्रिटिश सरकारले रिहा ग¥यो । र, स्वास्थ्य उपचारार्थ उनी युरोप पुगे । सन् १९३४ मा अष्ट्रियामा थिए । चिकित्सकले आराम गर्न सुझाए । मौकाको फाइदा उठाउँदै पुस्तक (द इण्डियन स्ट्रगल) लेख्ने सोच बनाए । त्यसको लागि एक जना टाइपिष्टको आवश्यकता प¥यो । भियनामा कार्यरत चिकित्सक मित्र डा. माथुरलाई टाइपिष्ट खोजिदिन अनुरोध गरे । डा. माथुरले एमिली स्चेन्कल नामक युवतीसित चिनापर्ची गराइदिए । एमिली अष्ट्रियाका प्रसिद्ध पशु चिकित्सककी पुत्री थिइन्, सुन्दर र शिक्षित । अंग्रेजी बोल्न र लेख्न जान्ने । सन् १९३४ मा एमिली २४ की थिइन् भने बोस ३७ को । चिकित्सकको सल्लाहबमोजिम आराम गरिरहेका बोस पुस्तक लेखनमा व्यस्त भए । उनी भन्दै जान्थे, एमिली टाइप गर्दै जान्थिन् । दिनहुँको उठबसले एमिलीप्रति प्रेमभाव जाग्यो । बोसले आफ्नो सम्पूर्ण जीवन भारतीय स्वतन्त्रताका लागि समर्पित गरिसकेका थिए । उनको अठोट थियो कि कहिल्यै महिलाप्रति आकर्षित भई प्रेमजालमा नफस्ने । तर, जब उनको मनमा प्रेम भावना जागृत भयो, तब यसबारे डायरीमा लेखे, ‘के यो सांसारिक उपयोगको प्रेम हो ? हामी जो दुई फरक देशका हौं, के हामीमा केही समानता छ ? मेरो देश, मेरो मान्छे, मेरो परम्परा, मेरो बानी र रीतिरिवाज, मेरो हावापानी– वास्तवमा सबै कुरा तिम्रोभन्दा धेरै भिन्न छ । एक क्षणको लागि, मैले यी सबै भिन्नता बिर्सेको छु जसले हाम्रो देशलाई अलग गर्छ । मैले तिमीभित्रको नारीलाई माया गरेको छु– तिमीभित्रको आत्मालाई चाहेको छु ।’
अष्ट्रिया बसाइको क्रममा दुबै निकै नजिक भए । कतिपय युरोपेली शहरको यात्रा सँगसँगै गरे । एमिली आदरपूर्वक ‘मिस्टर बोस’ भनी संबोधन गर्थिन् भने बोस उनलाई कहिले ‘मिस स्चेन्कल’ त कहिले ‘पर्ल स्चेन्कल’ भन्थे । यसबीच पिता जानकीदास बोसको निधनको खबर सुनेर हतारिँदै स्वदेश फर्के । यद्यपि, भारत पुग्दा सम्पूर्ण काजकिरिया सकिइसकेको थियो । अष्ट्रिया छाडेर आइसकेपछि उनमा एमिलीप्रतिको प्रेमभाव झन बढ्यो । साह्रै एक्लोपन महसुस गर्न थाले । सन् १९३६ को मार्च ५ मा एउटा पत्र लेखे । ‘प्रियतमा, समय आएपछि हिमपर्वत पनि पग्लने रहेछ, मभित्र यतिखेर यस्तै भाव आइरहेको छ । म तिमीलाई कति धेरै प्रेम गर्छु, यो मनको भावना व्यक्त गर्न पत्र नलेखी बस्न सकिन । जसरी हामी एकार्कालाई ‘माई डार्लिङ भन्छौं, तिमी मेरो मनकी रानी नै हौ तर के तिमी पनि मलाई त्यति नै प्रेम गर्छौ ? मलाई थाहा छैन भविष्य कस्तो हुन्छ ! हुन सक्छ मैले पूरै जीवन जेलमा बिताउनुपर्ला । मलाई गोली हान्न पनि सक्छ, फाँसीको पासोमा लट्किन पनि सक्छु । हुन सक्छ अर्को पटक तिमीलाई देख्न नपाऊँ । हुन सक्छ तिमीलाई फेरि पत्र लेख्ने अवसर पनि पाउँछु कि पाउँदिन ! तर, विश्वास गर तिमी सर्वदा मेरो हृदयमा रहनेछौ, मेरो सोच र सपनामा हुनेछौ । यदि हाम्रो मिलन यो जन्ममा भएन भने अर्को जन्ममा भए पनि अवश्य हुनेछ, हामी सँगै जिउनेछौँ । म तिम्रो साथमा हुनेछु, मिलेर दिन बिताउनेछु ।’
पत्रको अन्त्यमा लेखे ‘म तिमीभित्रको नारीलाई प्रेम गर्छु, तिम्रो आत्मासँग प्रेम गर्छु । तिमी त्यो प्रथम महिला हौ, जोसित मैले प्रेम गर्दै छु ।’ उनले यो पनि लेखे कि पत्र पढिसकेपछि नष्ट गर्नू तर एमिलीले पत्रलाई नष्ट गरिनन् बल्की सम्हालेर राखिन् । यसबाट प्रष्ट हुन्छ एमिली पनि बोसको प्रेममा गिरफ्तार भइसकेकी थिइन् । बोस जबसम्म भारतमा रहे, लगातार पत्र लेखिरहे । फुर्सद पाउनेबित्तिकै उनले एमिलीलाई सयौं पत्र लेखेका छन् । प्रायः सबै पत्रमा भित्री हृदयदेखि प्रेम गर्ने गरेको प्रष्ट पारे । सबै पत्रको शुरुआत ‘प्यारी एमिली’ बाट गरे । बोसले यस्तो पत्र जिन्दगीमा न पहिला न पछि नै कसैलाई लेखे । सुभाषको मनोदशा कस्तो भइसकेको थियो भन्ने सन् १९३७ को अप्रिलमा लेखिएको एउटा पत्रले प्रष्ट गर्छ । पत्रको अक्षर सबै अंग्रेजीको क्यापिटलमा यसरी लेखिएको थियो, ‘केही दिनदेखि पत्र लेख्ने सोचिरहेको थिएँ तर थाहा छैन, तिमीलाई मनको भाव लेख्न मलाई कम्ती गाह्रो हुन्न । तिमीलाई बताउन चाहन्छु कि म पहिला जस्तो छु, अहिले पनि उस्तै छु । तिमीबारे एकदिन पनि नसोची बिताएकै छैन । तिमी सधैँ मसँगै हुने गरेकी छौ । तिमीबाहेक अरुको बारेमा सोच्नै सक्दिनँ ।’
बोस केही समय राजनीतिक गतिविधिमा डुबेर जर्मनीतर्फ लागे । फेरि एमिलीसित भेट भयो । एमिली पनि उनलाई नै पर्खेर बसेकी थिइन् । उनीहरूले बिहेको निधो गरे र सन् १९३७ को डिसेम्बर २६ (एमिलीको २७ औं जन्मदिन) अष्ट्रियाको बडगास्टाइनस्थित एउटा रिसोर्टमा गोप्य विवाह सम्पन्न गरे । बिहेमा उनीहरू दुईबाहेक तेश्रो व्यक्तिको उपस्थिति थिएन । सुभाष यो विवाहलाई यस कारण पनि गोप्य राख्न चाहन्थे कि विदेशी उपनिवेशविरुद्ध स्वतन्त्र संग्राम लड्दै आइरहेका व्यक्तिले फेरि विदेशी युवतीसँग नै बिहे गरेको भनेर भारतीय जनताले गिल्ला नगरुन् । नभन्दै सन् १९३८ मा उनी कंग्रेस पार्टीको अध्यक्षमा निर्वाचित भए । सुभाष लापत्ता हुनुअघिसम्म अर्थात् ९ वर्षको अवधिमा मुश्किलले ३ वर्ष सँगै बिताए होलान् । यसबीच सन् १९४२ मा एमिली आमा बनिन् । सुभाष छोरी (अनिता) को जन्मको खबर सुन्नेबित्तिकै सन् १९४३ को फेब्रुअरीमा पुनः युरोप पुगे । केही समय सुत्केरी एमिली र शिशुसँग बिताए । त्यसबेला छोरी दुई महिना पुगेकी थिइन् । त्यसपछि भने उनीहरूको भेट कहिल्यै भएन किनभने सुभाष भारतलाई ब्रिटिश शासनबाट मुक्त गर्ने अभियानमा लागे ।
सन् १९४५ मा सुभाष चढेको विमान फार्मोसा (वर्तमान ताइवान) को आकाशमा दुर्घटना भयो । उनी रुसको सहयोग लिन चीनको मञ्चुरियातर्फ जाँदै थिए । उनी चढेको विमान ब्रिटिश सेनाको निशानामा परेको हो भन्नेहरू पनि उत्तिकै छन् भने कतिपय दुर्घटनाग्रस्त विमानमा सुभाषले यात्रा नै नगरेको भन्नेहरू पनि छन् । जे होस् उनको मृत्युलाई लिएर आजपर्यन्त भारतीयहरू विभाजित छन् । अर्थात् उनको मृत्युको पुष्टि आजसम्म हुन सकेको छैन । उता, एमिलीले पनि लोग्ने चढेको विमान दुर्घटनामा परेको खबर रेडियोमार्फत पाएकी थिइन् । तर, समाचार पुष्टि नभएको कारण लोग्ने फर्कने आशमा जीवन काटिरहिन्। परिवारले उनीमाथि दोस्रो बिहे गर्न पटकपटक दबाब दिए । तर उनले मानिनन् । दोश्रो विश्वयुद्धकालमा निकै कठिनाइ भोगिन् । यसको बावजुद छोरीलाई पढाएर जर्मनीको प्रसिद्ध अर्थशास्त्री बनाइन् । उनले जीवनमा कहिल्यै सुभाषको परिवारको सहयोग लिन मानिनन् । यहाँसम्म कि सम्बन्धलाई गोप्य राख्ने सुभाषको इच्छाको कदर पनि गरिन् न त उनी कहिल्यै भारत पुगिन् । उनको निधन ८६ वर्षको उमेरमा सन् १९९६ मा भयो ।
टिप्पणीहरू