आधा शताब्दीको काम,रित्तै कसरी घर जाम ?

आधा शताब्दीको काम,रित्तै कसरी  घर जाम ?

बरबोटे अतिरिक्त हुलाकका प्रमुख देवेन्द्र शर्माको अवकाशपछिको सेवासुविधा त कता हो कता उल्टै असार मसान्तदेखि जागिर नै सकिँदै छ । सरकारले बजेट वक्तव्यमार्फत् अतिरिक्त हुलाक खारेज गरेपछि ५० वर्षदेखि न्यून वेतनमा काम गर्दै आएका उनको सेवा सकिन लागेको हो । सरकारको यो निर्णयका कारण शर्मासँगै मुलुकका ११ हजार हुलाक कर्मचारीहरुले जागिरबाट हात धुने निश्चित भएको छ । 

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमार्फत् साउन १ गतेदेखि लागु हुनेगरी देशभरका अतिरिक्त हुलाक कार्यालय खारेज गरेको छ । अतिरिक्त हुलाक खारेजीसँगै इलामका ७४ अतिरिक्त हुलाक बन्द हुने अवस्थामा पुगेका छन् । योसँगै एक सय ५७ जना हुलाक कर्मचारीहरु संकटमा परेका छन् । न्यून सेवा सुविधामा काम गर्दै आएका हुलाक कर्मचारीहरु सेवा सुविधा बृध्दिको पर्खाइमा थिए । 

कतिपय उमेर हद नाघेका कर्मचारीहरु सेवा सुविधासहित अवकास लिने सोचमा थिए । तर, सरकारले हुलाक कर्मचारीहरुको सेवा सुविधा सम्बोधन नगरी अतिरिक्त हुलाक खारेज गरेपछि कर्मचारीहरु मारमा परेका हुन् ।

३२ रुपैयाँ मासिक तलबबाट सेवा शुरु गरेका शर्माले हाल मासिक आठ हजार रुपैयाँ पाउँदै आएका थिए । उमेरले ६६ पुगेका शर्मा थोरै भएपनि सेवा सुविधा लिएर अवकाश लिने मुडमा थिए । तर,सरकारले कुनै सेवासुविधा घोषणा नगरी अवकाश दिने भएपछि आफू अन्यायमा परेको उनले बताए । 

फलाटे अतिरिक्त हुलाक कार्यालयमा ५० वर्षदेखि कार्यरत ८५ वर्षीय फौदसिंह बुढाथोकीले कामको मूल्यांकन नगरी आफूहरुको जागिर खोसेर अन्याय गरिएको बताए । सरकारले सेवा सुविधासहित अवकाश दिने आशमा काम गरिरहेको उनको भनाई छ ।

एउटा अतिरिक्त हुलाकमा दुईदेखि सात जनासम्म कर्मचारी कार्यरत छन् । उनीहरुले सात हजारदेखि आठ हजारसम्म तलब बुझ्दै आएका थिए । सरकारले बजेटमार्फत सुविधा दिएर उमेर पुगेकालाई अवकाश र उमेर नपुगेकालाई न्यूनतम् पारिश्रमिक दिने आशामा बसेका उनीहरु सरकारको पछिल्लो निर्णयसँगै आन्दोलित बनेका छन् । 

हुलाकमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनको अगुवाईमा जेठ १५ गतेदेखि नै अतिरिक्त हुलाकहरु बन्द छन् । अतिरिक्त हुलाक खारेजीको निर्णय फिर्ताको माग गर्दै आन्दोलनरत उनीहरुले जिल्लामा धर्ना दिने,जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयमा ज्ञापन पत्र बुझाउने गरिरहेका छन् । 

असार १० गते जिल्ला तथा इलाका हुलाक कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको एशोसिएशन इलामका अध्यक्ष लीलानाथ लम्सालले बताए । आन्दोलनरत हुलाक कर्मचारीहरुले हुलाकको खारेजी नभई यसको पुनःसंरचना गर्नुपर्ने र सेवा अवधि पुगेकालाई सेवा सुविधा दिएर अवकास दिनुपर्ने माग अघि सारेका छन् ।

 

टिप्पणीहरू