भारतमा अमेरिकी पैसाको ओइरो
ई–कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमणको क्रममा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले उक्त जानकारी दिएका हुन् ।
मोदीले जस्सीसँग वासिङ्टनमा भेट गरेका थिए । यता भारतीय प्रधानमन्त्रीको कार्यालयले पनि अमेजनले भारतको सुक्ष्म,साना र मझौला उद्यमतर्फ आधुनिक प्रविधि र डिजिटलाईजेसनमा सहयोग पुर्याउने वचन दिएको जनाएको छ ।
प्रधानमन्त्री मोदीले गत बुधबार न्युयोर्क पुगेलगत्तै विद्युतीय कार उत्पादन कम्पनी टेस्लाका सिईओ एलन मस्कसँग भेट गरेका थिए । उनले पनि भारतमा छिटै टेस्लाको कारखाना खोल्ने वचन दिएको बताइएको छ ।
अर्को वर्ष मस्कले भारत भ्रमण गर्ने भएका छन् । सोही क्रममा नयाँ कारखानाबारे घोषणा हुने सम्भावना छ । अमेरिकामा निर्मित टेस्ला कार भारतमा बिक्रीका लागि समस्या रहेको मस्कले बताएका छन् । दुई वर्षअघि उनले ट्विट गर्दै भनेका थिए ‘भारतमा आयात भन्सार कर विश्वकै सबैभन्दा चर्को छ ।’
यता भारतीय अधिकारीहरुले भने कार आयातभन्दा भारतमै टेस्ला निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
टिप्पणीहरू