जेठमा बाँड्नुपर्ने जेष्ठ नागरिकको पोषण भत्ताका लागि असारमा विवरण जुटाउँदै महानगर

जेठमा बाँड्नुपर्ने जेष्ठ नागरिकको पोषण भत्ताका लागि असारमा विवरण जुटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई पोषण भत्ता वितरण गर्ने भएको छ । ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक रुपमा एकमुष्ट वितरण गर्दै आएको भत्ता महानगरले वितरण गर्न लागेको हो । 

पोषणयुक्त खाना, औषधी, उपचारलगायतका खर्चका लागि महानगरपालिकाले ‘वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्ग पोषण भत्ता’ शीर्षकमा बजेट छुट्याउँदै आएको छ । ज्येष्ठ नागरिकहरुलाई वार्षिक १२ हजार रुपैयाँ र पूर्ण रुपमा अपाङ्गता भएकालाई तीन हजार रुपैयाँ दिने गरिएको छ । 

सबै वडा कार्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले पोषण भत्ता वितरणका लागि विवरण पठाउन निर्देशन दिएको छ । २०७९ असार मसान्तसम्म ७५ वर्ष कटेका ज्येष्ठ नागरिकको नागरिकताको प्रतिलिपि, महानगरपालिकाको स्थायी बासिन्दा वा बसाइँसराई गरेर आएको प्रमाणको प्रतिलिपि र पूर्ण रुपमा अपाङ्गता भएकाको अपाङ्ग कार्डको प्रतिलिपि पेश गर्न भनिएको छ । 

पोषण भत्ता बैंकमार्फत वितरण गरिने महानगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिकलाई सोही बैंक खातामा भत्ताबापतको रकम उपलब्ध गराइने उल्लेख गर्दै महानगरपालिकाले बैंक खाता नभएकाको हकमा खाता खोलेर भत्ता वितरण गर्न भनेको छ ।

आगामी असार १७ गतेभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा विवरण पठाइसक्नुपर्ने जनाइएको छ । महानगरपालिकाले हरेक वर्षको बैशाखको अन्तिम र जेठको पहिलो सातामा भत्ता वितरण गर्ने गरेको थियो । तर, यसपटक भने भत्ता वितरणमा ढिलाइ भएको हो ।
 

टिप्पणीहरू