आरजूलाई समात्न निर्देशन नदिएको दावी

आरजूलाई समात्न निर्देशन नदिएको दावी

गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्रन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै निर्देशन नदिएको बताएको छ । 

आर्थिक राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त प्रष्टीकरण दिएको हो । नेपाल प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएर अदालतमा अभियोजन माग दाबी गरेपछि हाल मुद्दाको पुर्पक्ष भइरहेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन गर्ने जिम्मेवारी हो । भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबावरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ ।’

तर मन्त्रीबाट व्यक्तिलक्षित कुनै प्रकारको निर्देशन नदिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले जानकारी गराएका छन् । उनका अनुसार उक्त समाचार भ्रामक, कपोलकल्पित र झुठो हो । उनले भनेका छन्, ‘न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउनेतर्फ संवेदनशील हुन आग्रह गर्दछु । मन्त्रालय उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ ।’ 

तर, समाचारमा उक्त प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको बेला गृहमन्त्रीको त्यस्तो निर्देशन आएको दाबी गरिएको छ । उच्च स्रोतको हवाला दिँदै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख,अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई शुक्रबार गृहमन्त्री श्रेष्ठले उक्त निर्देशन दिएको आर्थिक दैनिकको समाचारमा उल्लेख छ । भनिएको छ, ‘शुक्रबार साँझ दिएको उक्त निर्देशन प्रहरीभित्र शनिबारसम्म फैलिए पनि यसमा प्रहरी हच्किएको छ । राजनीतिक वातावरण बिग्रने आशंकामा प्रहरी हच्किएको हो ।’

टिप्पणीहरू