भुटानी प्रकरणमा पोलिग्राफको प्रयोग
मेशिनले पत्ता लगायो झूठो बोलेको प्रमाण
नक्कली भूटानी शरणार्थी प्रकरणमा समातिएका मध्ये नेपाल प्रहरीले एक जनालाई बढी नै झुटो बोल्न थालेपछि पोलिग्राफ परीक्षण गराएको छ ।
मौखिक बयानलाई लिखतमा उतार्ने र बयानलाई पनि प्रमाणको आधार मान्ने अनुसन्धान प्रणालीभित्र झुट बयानलाई कायम राख्दा घटनाको वास्तविकता नखुल्ने कारण प्रहरीले केही वर्षयता पोलिग्राफ विधि अबलम्बन गर्दै आएको छ ।
तर, सबैका हकमा यस्तो परीक्षण आकर्षित हुँदैन । बयान दिने व्यक्तिको आवाजको शैली, आत्मविश्वास, अनुहारको हाउभाउ र मुटुको चालका आधारमा उनले बोलेको कुरा सत्य हो कि होइन भन्ने परीक्षण गरिन्छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १६ जनालाई पुर्पक्षका लागि थुनामा र दुईलाई बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिनुअघि नेपाली कांग्रेसका नेता आङटावा शेर्पाको हकमा भने पोलिग्राफ परीक्षण गराइएको हो । त्यसका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा लगिएको थियो ।
उनी तिनै व्यक्ति हुन्, जसले पैसाको कारोबार गराउन र बयान फेराउन बालकृष्ण खाँणसँग भेट्ने, नरहरि केसीसँग एक करोड लिएर अर्को पक्षलाई पैसा बुझाउने, ७० लाख आफूसँग राखेर ३० लाख दिनेजस्ता काममा प्रत्यक्ष संलग्नता जनाएका थिए । पोलिग्राफ परीक्षणका क्रममा उनीसँग तीन प्रश्न सोधिएकोमा सबैको नकारात्मक जवाफ आयो । प्रत्येक सोधाईमा ‘छैन–हैन’ भन्दै ढाँटेका थिए । परीक्षणपछि ‘डिसेप्सेस इण्डिकेटेड’, अर्थात् ढाँटेको नतिजा आएको हो ।
कुनै घटना मान्छेको शंकाले पत्ता नलाग्दा प्रविधिको प्रयोग गर्ने कुरा नौलो हैन । कञ्चनपुरमा बलात्कारपछि मारिएकी बालिका निर्मला पन्त प्रकरणमा डिएनए परीक्षण गरियो । त्यसआधारमा दिलीपसिंह विष्टलाई दोषी करार पनि गरियो । यद्यपि, यो विषय विवादित हुँदा उक्त प्रकरणको छिनोफानो लाग्न सकेको छैन ।
विमानस्थल अध्यागमनमा अनेकन विसंगति आएपछि बायोमेट्रिक प्रविधि भित्र्याइएको छ । जसमा व्यक्तिको आँखा, दशै औंलाको रेखा परीक्षण हुन्छ । प्रविधिले संसार कति साँघुरिएको छ भने, मान्छे जुन कुनामा लुके पनि पत्ता लाग्ने । क्रिकेटर सन्दिप लामिछानेले अमेरिकामा क्रेडिट कार्ड चलाएको आधारमा उनी त्यहाँ छन् भन्ने पत्ता लागेझैं अहिलेको जमानामा पत्ता नलाग्ने कुनै कुरा बाँकी रहेन ।
टिप्पणीहरू