लगातारको वर्षापछि अर्घाखाँची जाने सडक पनि अवरुद्ध

लगातारको वर्षापछि अर्घाखाँची जाने सडक पनि अवरुद्ध

अविरल वर्षापछि गएको पहिरोले गोरुसिंगे–सन्धिखर्क सडकमा यातायात ठप्प भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरा र सितगंगाको सितापुरको भुवनपाटामा पहिरो खसेको छ । 

प्रहरीका अनुसार सन्धिखर्क–६ नरपानीको दहखोला र शितगंगा–१३, कोन्द्रेमा पहिरो गएको छ । लगातारको वर्षाले पहिरो पन्छाउन नसकिएको बताइन्छ ।

धेरै ठाउँमा गएको पहिरोका कारण सदरमुकाम सन्धिखर्कबाट अन्यत्र जाने र सन्धिखर्कतर्फ गएका सवारी साधनको सडकमा लामो लाइन लागेको छ ।

यता पाल्पामा पनि अविरल वर्षापछि सिद्धार्थ राजमार्गलगायत अधिकांश सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका दोभान, सिद्धबाबा, झुम्सा, पानीमिल, कालीमाटीलगायत एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खसेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुनेमा पनि ठूलो पहिरो गएको छ । आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध भएको छ । तानसेनबाट गुल्मी जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको बताइएको छ ।
 

टिप्पणीहरू