बैंकरहरूलाई के पाक्छ साँझको सितन ?

बैंकरहरूलाई के पाक्छ साँझको सितन ?

प्रचलित कानुन र राष्ट्र बैंकको निर्देशनविपरीत पेड इन्टर्नसिप कर्मचारीको विज्ञापन गरेको एनआइसी एसिया बैंकले नियमनकारी निकायको आँखामा छारो हालेको छ । स्थायी कर्मचारी राख्दा खर्च बढ्ने र अस्थायी तथा करारमा भर्ना गर्दा १८० दिनपछि स्वतः स्थायी गर्नुपर्ने भएपछि बैंकले नयाँ फर्मुला प्रयोग गरेर ३५९ वटै शाखामा पेड इन्टर्नसिपको विज्ञापन गरेको थियो । भलै अहिले शाखा ३ सय ६० वटा पुगेको छ ।

जनआस्था साप्ताहिक र जनआस्था डट कममा जेठ अन्तिममा प्रकाशित उक्त समाचारबारे केन्द्रीय बैंकलाई एनआइसीले दिउँसै रात पारेर जवाफ दिएको छ । आफूहरूले मौखिक सोधनी गर्दा एनआइसीका हाकिमहरूले उक्त विज्ञापन पुरानो भन्दै जवाफ फर्काएको राष्ट्र बैंकका अधिकारीले बताए । ‘पहिले एक पटक फेसबुकमा विज्ञापन गरिएको थियो, अहिले होइन भनेर पन्छिएको छ,’ केन्द्रीय बैंकका एक जना निर्देशकको भनाइ छ ।

स्रोत भन्छ, ‘राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण विभागका कसैले पनि एनआइसीको बदमासीबारे चासो लिँदैनन् । विगतमा उनीहरूले धेरैलाई जागीर खुवाएका कारण त्यो बैंकको विरुद्ध चुईंक्कसमेत बोल्न सक्दैनन् । नियम विपरीतको पेड इन्टर्नसिप विज्ञापनमा नियमनकारी निकायले कड्केर बोल्न नसकेपछि मारवाडीका एजेन्टहरूले टेर्ने कुरै भएन । राष्ट्र बैंकले फोनमा के हो ? भनेर सोधिटोपले, उनीहरूले पनि त्यो होइन भने कुरै सक्कियो ।’

एनआइसीमा केही वर्षअघि भर्ना गरिएका सयौं ज्यालादारी र करार कर्मचारी अधिकांश राष्ट्र बैंकको निरीक्षण र नियमन विभागका ठूलादेखि साना कर्मचारीको सिफारिसमा पठाइएका हुन् । बैंक तथा वित्तीय संस्था नियमन विभागका एक जना उपनिर्देशकले भने, ‘आफैँले लत्तो छाडेपछि निजी क्षेत्रले टेर्ने कुरो भएन । हाम्रा साथी र हाकिमहरू पनि सबै चोखा छैनन् । त्यो कमजोरीमा टेकेर वाणिज्य बैंकहरूले मनोमानी गरेका हुन् । पेड इन्टर्नसिपको विज्ञापन गरिएकै हो । तर, अहिले कुरो बाहिर आएपछि पुरानो विज्ञापन भनेर पन्छिएको छ । आखिर उसले विज्ञापन गरेकै छैन भनेर दाबी गर्न भने सकेको छैन ।’

यता नाम उल्लेख नगर्ने शर्तमा एक जना उपल्लो तहका अधिकृतले केन्द्रीय बैंकका हाकिम र कर्मचारीहरूको मान्छेको करार नवीकरण नगरिदिएपछि सामाजिक सञ्जालमा पुरानो विज्ञापनलाई भाइरल बनाइएको दाबी गरेका छन् । उनले भने, ‘पहिले एक पटक फेसबुकमा विज्ञापन गरिएको हो । तर अहिले हाम्रोमा डेढ सयले इन्टर्नसिप गरिरहेका छन् । पहिले डिजिटल बैंकिङ नहुँदा त्यसरी इन्टर्न गराइएको साँचो हो । करारमा राखिएकी कर्मचारीको म्याद सकिएको छ । राष्ट्र बैंकका हाकिमहरूको धेरै मान्छे राखिएको थियो । अब उनीहरूको करार नवीकरण हुँदैन । उनीहरूले नै हल्ला गरेका हुन् ।’ 

यससम्बन्धमा राष्ट्र बैंकका कसैले पनि बोल्न चाहेनन् । उनीहरूको भनाई छ, ‘कसले, कहिले, कुन बैंकमा मान्छे राख्यो अहिले हामीले के जवाफ दिनु ?’ एनआईसी एसियाको पेड इन्टर्नसिपबारे पनि उनीहरू मौन देखिए । बैंकले जनताका छोराछोरीको हाड घोटाउन पेड इन्टर्नसिप अर्थात् वैतनिक कामदार माग गरेको स्पष्ट भइसकेको छ । कर्मचारीको हैसियतमा विज्ञापन गर्दा तुलनात्मक रूपमा धेरै तलब, भत्ता र सुविधा दिनुपर्ने भएपछि उच्च तहका हाकिमहरूले अंग्रेजीमा पेड इन्टर्नसिपको सुगर कोटेड विज्ञापन गरेका हुन् ।

मुश्किलले १५ हजार रूपैयाँको निम्ति वैतनिक इन्टर्नसिपको आह्वान गर्नु भनेको विगतमा बँधुवा मजदुरको आधुनिक रूप हो । नगद, फ्रन्ट डेस्कलगायत अपजस आउने र जोखिम मोल्नुपर्ने फाँटमा उनीहरूलाई काम लगाउन खोजिएको स्पष्ट हुन्छ । यसअघि जनआस्थाले ‘कारवाही हुँदैन ?’ भनेर राखेको जिज्ञासामा राष्ट्र बैंकको नियमन विभाग स्रोतले भनेको थियो, ‘थप अध्ययन गरिरहेका छौं । सुपरिवेक्षण विभागले हेर्दै छ । जनगुनासोका आधारमा हाम्रै विभागले पनि कारबाही प्रक्रिया अघि बढाउनेछ ।’ तर, अहिलेको जनगुनासो भने बैंकरहरूको साँझको सितन बनेको छ । 

– द्रव्य शाह
 

टिप्पणीहरू