काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय, आङबो र राईलाई बोलाएर दायाँबायाँ नगर्न निर्देशन
सत्तारुढ गठबन्धनले नेपाली काँग्रेस कोशीका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । आज बेलुका ५ बजेसम्म थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताउनुभयो ।
‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उहाँले भन्नुभयो, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’
एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भैसकेको छ । प्रदेश प्रमुखले असार १७ गते पाँच दिनको म्याद राखेर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेपछि नयाँ मुख्यमन्त्रीको सरगर्मी बढेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले समेत मुख्यमन्त्रीमा दाबी गरेपछि गठबन्धनमा साझा उम्मेदवार अघि सार्ने विषय पेचिलो बनेको थियो ।
सत्ता गठबन्धनका सबै दल एक ठाउँमा उभिँदा पनि बहुमत पुर्याउन सहज भने छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गरी जम्मा ४६ मत मात्रै हुन्छ । यस्तो अवस्थामा ६ सिट रहेको राप्रपा निर्णायक देखिएको छ । ४० सांसद रहेको एमालेलाई छोडेर राप्रपा गठबन्धनको पक्षमा आएमात्र कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्री बन्ने बाटो खुल्छ ।
टिप्पणीहरू