बञ्चरेडाँडामा फोहोर फ्याँक्दा ककनीलाई पैसा

बञ्चरेडाँडामा फोहोर फ्याँक्दा ककनीलाई पैसा

नुवाकोटको ककनी गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीसँग प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेको हो । 

फोहोरमैला व्यवस्थापनका निम्ति पटक-पटक वार्ता र छलफल गर्दा समेत कुनै समाधान ननिस्किएपछि गाउँपालिका आफैँले यस्तो कदम चालेको पालिकाकी उपाध्यक्ष मिठ्ठामाया तामाङले जानकारी दिइन् । 

उनले भनिन्, ‘हामीले फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं महानगरपालिकालगायत उपत्यकाका स्थानीय तहसँग पटकपटक वार्ता र छलफल गरिसक्यौं । तर, हालसम्म कुनै पनि समाधान निस्केको छैन । केबल अध्ययनमै समय गुज्रिरहेको छ ।’ ‘त्यसैले, फोहोर र मानिससँगै बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागि हामीले यो कदम चालेका हौं,’ उनले थपिन् । 

उपाध्यक्ष तामाङका अनुसार गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा​​​​​​​​​​​​​​ जाने प्रत्येक ट्रिपरलाई एक पटकमा एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको छ । सानो ट्रिपरलाई एक हजार र ठूलोलाई १५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण भएको उनले जानकारी दिईन् ।

टिप्पणीहरू