सभ्य रुपमा प्रस्तुत हुन काठमाडौं महानगर प्रहरीलाई निर्देशन
फुटपाथ व्यापारीहरुलाई अभद्र व्यवहार गरेकोमा चर्को आलोचना भएपछि काठमाडौं महानगर प्रहरी बलले नगरप्रहरीलाई सभ्य रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । शहरी व्यवस्थापनका क्रममा फुटपाथ व्यापारीहरुलाई नराम्रो व्यवहार गरेको जनगुनासो व्यापक आएपछि प्रहरी बलले नगर प्रहरीलाई सबैसँग सम्मानजनक व्यवहार गर्न निर्देश गरेको छ ।
राष्ट्रिय सभा गृहमा भेला भएर बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले निर्देशनात्मक बिफ्रिङ्ग गरेका हुन् । उनले नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्न, सामान पोखिने गरी कारबाही नगर्न, काम गर्दा अनुशासनको अनिवार्य पालना गर्न निर्देशन दिएका छन् ।
‘शहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकले नजिकबाट नियालिरहेका हुन्छन् । कानुनको पालना गर्ने–गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश श्रृङ्खलाको पालना नगरप्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई कडाइका साथ पालना गर्नुपर्छ’, उनले भने ।
नगरप्रहरीले साइकल व्यापारीलाई बलजफ्ती गर्दै सामान खोसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । साना व्यापारीलाई दुःख दिएको भन्दै महानगर प्रहरी बलको चर्को आलोचना भइरहेको छ । एक दर्जन स्वतन्त्र युवाले त्यसको विरोधमा आज बिहान महानगरपालिका कार्यालयको गेटअगाडि प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू