सेनाको संख्या कटौतीबारे चलेको बहसमा पूर्वसैनिकहरु बोल्ने

सेनाको संख्या कटौतीबारे चलेको बहसमा पूर्वसैनिकहरु बोल्ने

नेपाली सेनाको संख्या कटौतीबारे संसददेखि सडकसम्म बहस चल्न थालेपछि अवकास प्राप्त सैनिक अधिकृतहरुले यसबारे धारणा राख्ने भएका छन् । रिपोर्टस क्लवमा भोलि पत्रकार सम्मेलन गरी सेनाको संख्या घटाउने सम्बन्धमा भैरहेका बहसप्रति पूर्वसैनिक अधिकारीहरुले आफ्ना भनाई राख्न लागेका हुन् ।

दिउँसो २ बजे आयोजना हुने पत्रकार सम्मेलनमा पूर्वसैनिक जनरलहरु डा. केशर बहादुर भण्डारी, बाबुकृष्ण कार्की, प्राे.एवं ईतिहासकार डा. प्रेमसिंह बस्न्यातलगायतले धारणा राख्ने बताइएको छ ।  माओवादी जनयुद्धका बेला ५० हजारको हाराहारीमा रहेको सेनाको संख्या अहिले झन्डै एक लाख पुगेको छ । तर, देशमा युद्ध र विपतको अवस्था नरहेको र सीमा सुरक्षामा समेत सेनाको भूमिका प्रभावकारी नरहेको भन्दै संख्या घटाउनुपर्ने बहस लामो समयदेखि चल्दै आएको छ । 

अस्ति राष्ट्रियासभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेकी सांसद विमला पौड्यालले मुलुकभित्र लडाइँ नभएको र बाह्य शक्तिसँग जुध्ने क्षमता पनि नभएकाले सैनिक संख्या कटौती गरेर मुलुकको ढुकुटी बचाउनुपर्ने धारणा राखेकी थिइन् । 'देशभित्र लडाइँ छैन, छिमेकीबाट लडाइँ हुने सम्भावना पनि देखिंदैन । भइहाले पनि टिक्न सक्ने अवस्था देखिंदैन । ८०/९० हजार सेना चाहिने कि नचाहिने ?, उनले भनेकी थिइन् । 

त्यसअघि प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले चालू खर्च घटाउन सेनाको संख्या कटौती गर्न सकिने धारणा राखेका थिए । सांसदहरुले औपचारिकरुपमै सैनिक संख्यामा पुनरावलोकन गर्नुपर्ने बहस थालेपछि कतिपयले भने त्यसको विरोध गरेका छन् । यसप्रति नेपाली सेनासमेत सन्तुष्ट नरहेको चर्चा छ ।

 

टिप्पणीहरू