ठेकेदारहरुले मागे अर्थमन्त्रीको राजीनामा

ठेकेदारहरुले मागे अर्थमन्त्रीको राजीनामा

निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् । उनीहरुले राजधानीको माइतीघरमा धर्ना दिँदै मन्त्री महतको राजीनामा माग गरेका हुन् । निर्माण सम्पन्न भइसकेका कार्यको भुक्तानी हालसम्म नभएपछि ठेकेदारहरुले राजीनामाको माग चर्काइएको बताएका छन् । 

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुलेसमेत निर्माण व्यवसायीहरुले गरेका भुक्तानी असारभित्रै कुनैपनि किसिमबाट गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म त्यसको सुरसार नदेखिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भनेका छन्, ‘सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । मजदुरलाई पारिश्रमिक दिन सकिएको छैन । सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरु खारेज गर्नुपर्छ ।’

सरकारले निर्माण व्यवसायीहरुसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिनँ भन्न नपाइने सिंहको भनाई छ । ‘लामो समयदेखि निर्माण कार्य ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसक्नु हो, उनले भने । 

नेपाल निर्माण व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउलगायत प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।

टिप्पणीहरू