खोकनामा ओलीको जीवनको जोखना
– ईश्वरी राई (इशु)
हेटौंडाका त्रिवेन्द्र ओलीलाई जन्मथलोभन्दा कर्मथलो नै प्यारो लाग्छ । र, त हेटौंडा छाडेर ललितपुरस्थित खोकनामा बस्दै आएका छन् । हुन त खोकनामा आफ्नो भन्ने कोही छैन । तर यही ठाउँले सबैथोक दिएको छ । ‘मेरालागि खोकना बा–आमा जस्तै हो,’ उनले भने, ‘यो ठाउँले सबै आवश्यकता पूरा गरिदिएको छ ।’
बिहानको मिर्मिरेमा आँखा मिच्दै हिलो बारीमा पुग्छन् अनि दिनभरि त्यहीँ रमाउँछन् । ‘आजभोलि रोपाइँमा व्यस्त छु, यो बर्खामा तसास फेर्नेसमेत फुर्सद हुँदैन,’ उनले भने । दिनको १५ सय कमाउने उनी रोपाइँ मात्र होइन खेताला खोज्ने कामसमेत गर्छन् । जसबापत एकजना बराबर सय रूपैयाँ लिन्छन् । ‘अब साहुजनहरू मकहाँ आउनुहुन्छ, खेताला खोजी देऊ भन्नुहुन्छ । नाइँ भन्न सक्दिनँ । त्यसैले खेताला खोजिदिन्छु । काम गरिसकेपछि दाम पनि त लिनैप¥यो नि’, हाँस्दै भन्छन् ।
काम गर्ने मान्छेको आवश्यकता पर्दा ओलीलाई सम्झिने गाउँलेले कुनै समय आफूलाई हेपेको समेत बताउँछन् । ‘जब म नयाँ थिएँ, तब मलाई यहाँका स्थानीयले हेप्ने गर्थे । तर आज म नै उनीहरूको लागि प्रिय बनेको छु’, विगतलाई स्मरण गर्दै भने, ‘राम्रो काम गर्नेलाई सबैले मन पराउने रहेछ ।’
घरदेखि खोकनासम्मको यात्रा
०३४ सालमा हेटौंडामा जन्मिएका उनी घरका कान्छो छोरा थिए । १३ रोपनी जग्गाका मालिक उनीहरूलाई खान लगाउन मज्जैले पुग्थ्यो । घरको सानो सदस्य भएका कारणसबैले पुलपुल्याएर राखेका थिए । त्यसैले साथीको लहलहैमा घरको माया मारेर गाउँबाट भागे ।
थाहा थिएन, कहाँ जाने । भर्खरै कक्षा ७ मा पढ्दै गरेका उनीहरू हिँड्दै खोकना पुगे । ‘साथीहरूको कुरा सुनेर घरबाट भागियो । कता जाने थाहा भएन अनि हिँड्दै जाँदा खोकना पो पुग्यौँ’, घरबाट भागेको दिन सम्झँदै उनले भने, ‘त्यो बेला न पैसा थियो, न त गाडी नै !’ पहिलोपटक खोकना पुगेका उनीहरूलाई थाहै थिएन– कहाँ बस्ने, के खाने र कहाँ सुत्ने भनेर । तर गाउँ डुल्दै गर्दा काम पाए, ३० पाथीको बोरामा सामान बोक्ने । त्योबापत दुई–चार रूपैयाँ पाउँथे । भारीको नाम्लो थाप्लोमा पर्दा घरलाई सम्झेर आँसु खसेको अझै याद छ ।
कहिल्यै काम नगरेका उनले खोकना पुगेर नसकेको काम पनि गरे । घरमा मायाले हुर्किएका उनलाई मान्छेहरूले गाली गरेर झपारे । तैपनि, हार मानेनन् । गाउँ जाने आँट आएन । त्यसैले यहीँ बसेर काम गर्ने निधो गरे । खोकनाको रहनसहन बुझ्दै गएका उनले विस्तारै खेतको काम सिके । अनि त्यहीँबाट दिनको ३० रूपैयाँ कमाउन थाले ।
तीन दशक बढी समय खोकनामा बिताएका उनको परिवार सबै हेटौंडामै छन् । परिवारलाई बेला मौकामा पैसा पठाइदिने गर्छन् । ‘महिनामा ३०–४० हजार रूपैयाँ कमाएको पठाइदिन्छु’, उनले भने, ‘श्रीमतीले २२ वटा खसी पालेकी छन्, गाउँमा कुनै दुःख छैन ।’ ९ वर्षका छोरालाई अंग्रेजी स्कुलमा पढाएका छन् । गाउँबाट टाढा बसेका उनलाई घरबाट नबोलाएका पनि होइनन् तर जानै मान्दैनन् । भन्छन्, ‘मलाई मेरो जन्मथलोभन्दा पनि कर्मथलो नै प्यारो लाग्छ ।’
ज्यामी काममा पनि सिपालु
खेती किसानी मात्र होइन, ओली ज्यामी काममा पनि उत्तिकै सिपालु छन् । बर्खाको बेला खेतमा व्यस्त हुने उनी बाँकी महिना ज्यामी काम गर्छन् । ‘म मिस्त्री हुँ, दिनको १२ सय कमाउँछु, कामको कुनै कमी छैन,’ उनले भने, ‘जिन्दगीमा सबै काम गर्न सिकियो ।’
विदेश जान नरुचाउने उनी स्वदेशमै रमाउँछन् । ‘नेपालमै बसेर थोरै पैसा कमाउनुमा धेरै सन्तुष्टि छ । विदेश गएर अरुको कुल्ली हुन मन छैन’, उनले भने । स्वदेशमै बसेर काम गर्न चाहने उनी भन्छन्, ‘बरू मेरो देशको ट्वाइलेट सफा गर भन्दा पनि पछि हट्दिनँ तर विदेश जान्न ।’
टिप्पणीहरू