अमेरिकी पाहुनाद्वारा स्वर्गीय सीतालाई श्रद्धाञ्जली, प्रधानमन्त्रीलाई समवेदना
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना दिएका छन् । आज साँझ बालुवाटार पुगेर उनले स्वर्गीय सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीसमक्ष समवेदना प्रकट गरेका हुन् ।
आज बिहान नेपाल आइपुगेका लु उच्चस्तरीय राजनीतिक भेटघाटमा छन् । सोही सिलसिलामा प्रधानमन्त्री भेट्न साँझ बालुवाटार पुगेका उनले त्यहाँ राखिएको दिवंगत सीताको फोटोमा पुष्पअर्पणसहित मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
त्यसअघि लुले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
विमान बंङ्लादेशको बिजी ३७१ उडानमा ढाकाबाट बिहान पौने १२ बजे काठमाडौँ आइपुगेका लु आजै राति स्वदेश फर्किने कार्यक्रम छ । उनी बात्तिसपुतलीस्थित होटल द्वारिकामा बसेका छन् । बालुवाटारबाट फर्केपछि होटलमा उनको सम्मानमा रात्रिभोजको आयोजना गरिएको बताइएको छ ।

टिप्पणीहरू