केपी ओलीलाई धन्यवाद दिँदै चिकित्सक संघका महासचिवले पद त्यागे

केपी ओलीलाई धन्यवाद दिँदै चिकित्सक संघका महासचिवले पद त्यागे

नेकपा एमालेसम्वद्ध राष्ट्रिय चिकित्सक संघका महासचिव डा. पुष्पमणि खरालले पद छोडेका छन् । राजनीतिको नयाँ अध्याय शुरु गर्ने घोषणासहित उनले आज राजीनामा दिएका हुन् । 

राष्ट्रिय चिकित्सक संघमा रहेर देश र जनताको पक्षमा योगदान गर्न नसकिने निचोडमा पुगेपछि यो कदम चालेको उनको भनाई छ । 

डा. खरालको राजीनामा पत्रमा भनिएको छ, 'नेकपा एमाले अन्तर्गतको राष्ट्रिय चिकित्सक संघको महासचिव भएर पनि काम गरेँ । पार्टीका अन्य अंगहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सके जति योगदान पनि गरेँ । वर्षौँपछि आज फर्केर हेर्दा मैले यथास्थितिको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकाले । मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु ।'

चिकित्सक संघको महासचिवका साथै एमालेका अरु सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेसम्मको साथ् र सहयोगका लागि धन्यवाद दिएका छन् । त्यस्तै, पार्टीका पदाधिकारी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, चिकित्सक संघका पदाधिकारी र सदस्यहरुलाई पनि उनले धन्यवाद भनेका छन् ।
 

टिप्पणीहरू