जुलुसपछि सहकारी पीडितहरूको रिले अनशन शुरु
-राजेशचन्द्र राजभण्डारी
राजधानीको माइतीघर मण्डलामा जेठ २० गतेदेखि सञ्चालित सहकारी पीडितहरूको आन्दोलनको ४५ दिनसम्म पनि सरकारले उनीहरुको समस्या सुनेन । त्यसैले आज ४६ औं दिनदेखि आन्दोलनको स्वरूप परिवर्तन गरेर रिले अनशन थालिएको छ ।
काठमाडौंका ओरेन्टल, देउराली, कान्तिपुर, बागलुङको इमेज, शिवशिखर बहुउद्देश्यीय सहकारीलगायत पाँच दर्जन सहकारी संस्थाका पीडितले निरन्तर आन्दोलन गरेका छन् । हिजो हजारौंको जुलुसपछि आज आन्दोलनको स्वरूप परिवर्तन गरेर रिले अनशन थालिएको सहकारी पीडित बचतकर्ता संघर्ष समिति महासंघका संरक्षक कुशल केसीले बताए ।

डाक्टर जयकान्त रावतको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनले हालको समस्याको समाधान नहुने भन्दै उक्त प्रतिवेदन खारेजीको माग गर्दै उनीहरुले रिले अनशनको बाध्यता आइपरेको बताए । महासंघका संयोजक हरिचन्द्र श्रेष्ठले सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताले माइतीघर मण्डलामा धर्ना बस्नु परेको उल्लेख गर्दै भने, ‘सरकारले त्यस्तो बचत फिर्ता गराउन पहल गर्नुपर्छ ।’
सहकारी पीडितहरूले हातमा प्लेकार्ड बोकेका छन् । आफ्नो बचत फिर्ता गर, सहकारीको पाराले दुःख पाए साराले, भ्रष्ट सहकारी सञ्चालकलाइ कार्वाही गरलगायत नारा पनि लगाएका छन् ।
आफूहरुले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ ।



टिप्पणीहरू