कनकाई नगरपालिकामा चुरोट सुर्ती बेच्न बन्देज

कनकाई नगरपालिकामा चुरोट सुर्ती बेच्न बन्देज

झापाको कनकाई नगरपालिकाले सूर्तिजन्य पदार्थ बिक्रीवितरणमै रोक लगाएको छ । आजदेखि गुट्खा, खैनी, चुरोटलगायतका सूर्तिजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक लगाइएको हो ।  

सूर्तिजन्य पदार्थको सेवनले जनसंख्याको ठूलो हिस्सा प्रभावित भएको उल्लेख गर्दै नगरपालिकाले उक्त अभियानमा सरिक हुन सबै नगरबासीलाई आग्रह गरेको छ । युवा पुस्तामा समेत सूर्तिजन्य पदार्थको सेवन बढ्दै गएकाले यसलाई तत्काल रोक्न आवश्यक देखिएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले सूचना जारी गर्दै व्यापारीहरुलाई अब उप्रान्त सूर्तिजन्य पदार्थ बेचबिखन नगरिदिन आग्रह गरेको छ । त्यस्ता पदार्थको सेवनले समाज र मानिसको स्वास्थ्यमा पर्न गएको हानिलाई मध्यनजर गरेर उक्त अभियानमा सहयोग गर्न नगरपालिकाले भनेको छ । 

‘गुट्खा, खैनीलगायतका सूर्तिजन्य पदार्थका धेरै सेवनकर्ता प्राणघातक रोगहरुको शिकार भइसक्नुभएको यथार्थलाई मध्यनजर गरेर त्यस्ता पदार्थको सेवन गरिरहनुभएका व्यक्तिलाई आफ्नो जीवन सुरक्षित गर्न, परिवारमा खुसीको वातावरण निर्माण गर्न र सिंगो समाजलाई सभ्यतातर्फ डोप्याउन अब उप्रान्त सेवन त्यागेर यो अभियानमा सरिक भइदिनुहुन अनुरोध छ’, सूचना उल्लेख छ ।

त्यस्तै, राजनीतिक पार्टी, शैक्षिक, धार्मिक, सामाजिक संघसंस्था, क्लब, सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अभियानको प्रचारप्रसार गर्न अनुरोध गरिएको छ । साथै, कसैले अभियानलाई असहयोग गरेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण तथा प्रयोगलाई निरन्तरता दिएमा स्थानीय सरकारको प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू