कालिमाटी र बालाजुका स्टल भाडा सम्झौता खारेजीको माग
खाद्यका लागि कृषि अभियानले कालीमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने सम्झौता खारेज गर्न माग गरेको छ ।
अभियानले कालीमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने सम्झौता खारेज गरेर खुला प्रतिस्पर्धाबाट उत्पादक, कृषक समूह र कृषि उत्पादनमा संलग्न कृषि सहकारीलाई स्टल भाडामा लगाउन माग गरेको हो ।
आज जारी विज्ञप्तिमा अभियानले २०६० सालमा बनेको बजारको स्टल वितरण तथा सञ्चालनसम्बन्धी कार्यविधिलाई लत्याएर गरिएको उक्त निर्णय सरासर बिचौलिया र व्यापारीको हितमा भएको उल्लेख छ ।
वि.सं. २०६५ सालमा भएको सम्झौताअनुरुप २०८० असार मसान्तमा कालिमाटी र बालाजु तरकारी बजारका व्यवसायीसँग गरिएको १५ वर्षको सम्झौता सकिएसँँगै व्यापक खबरदारीका बाबजुद जनभावना विपरीत पुनः तिनै व्यापारीलाई निःशुल्क सरह बजार सुम्पिनु खेदजनक रहेको अभियानले जनाएको छ ।
‘कालीमाटी बजार समितिले उपत्यकामा रहेका प्रमुख बजारमध्येका बजारहरु कालीमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल नवीकरण गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘२०६० सालमा बनेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली र २०७६ सालमा बनेको बजारको स्टल वितरण तथा सञ्चालनसम्बन्धी कार्यविधिलाई कुल्चिएर गरिएको यो निर्णय सरासर बिचौलिया र व्यापारीको हितमा रहेको अभियानको ठहर छ ।’
टिप्पणीहरू