पूर्व राजा ज्ञानेन्द्र र एमाले अध्यक्ष केपी ओली एकैचोटि सिङ्गापुर
एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने क्रममा हिजो राति सिंगापुर पुग्नुभएको छ । उहाँ श्रीमती राधिका शाक्य र पार्टी उपमहासचिव विष्णु रिमालसँगै हिजो राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा त्यता जानुभएको हो । उहाँका सहयोगीहरु भने अस्ति राति नै सिंगापुर पुगिसकेका थिए । त्यही दिन बैंककबाट पूर्व राजा ज्ञानेन्द्र पनि सिङ्गापुर पुगेको बुझिएको छ ।
पूर्व राजा गत शुक्रबार नाति नातिना र परिवारका सदस्यहरुसँग समय बिताउन भन्दै पूर्वरानी कोमलसँगै बैंकक जानुभएको थियो । बुहारी हिमानी भने त्यसको दुई दिनअघि त्यता गएको बताइन्छ ।
तर,बाघ कराउने र बाख्रा हराउने भनेझैँ नोम्पेन्ह हिँडेका अध्यक्ष र बैंककमा बसेका पूर्वराजालाई एकैपटक सिंगापुर जानुपर्नाको कारण खुल्न सकेको छैन ।
सामान्यतयाः कम्बोडिया यात्रा गर्ने धेरैले बैैंकक रुट प्रयोग गर्छन् । एमाले अध्यक्ष किन मलेसिया र त्यो रुट भएर जानुभएन, त्यो उहाँको विषय भयो । बैंककमा हुने भेटघाट र गतिविधि नेपालीहरुको पहुँच र जानकारीमा हुने, त्यहाँ नेपाली दूतावास भएकाले पूर्वप्रधानमन्त्री तथा पूर्वराजाको भ्रमणबारे काठमाडौंमा औपचारिक जानकारी गराइने भएकाले पनि सिंगापुरलाई तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।
अर्कोतर्फ,अध्यक्ष ओलीले निजी सचिव राजेश बज्राचार्यलगायत अंगरक्षकलाई समेत अघिल्लै दिन सिङ्गापुर पठाउनुभएको छ । भोलिपल्ट उहाँसहित पूर्वराजाको सिंगापुर यात्रा एकै पटक काठमाडौं र बैंककबाट हुनुलाई काकताली मात्रै मानिएको छैन ।
पूर्वराजा र राजपरिवार निकट राप्रपासँग एमालेको सत्ता र बिपक्षी गठबन्धन रहँदै आएको छ । प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ । अर्कोतर्फ अध्यक्ष राजेन्द्र लिंगदेन र ओलीबीच छुट्टै ढंगले गृहजिल्लामा ०७४ सालको चुनावदेखि नै तालमेल हुँदै आएको छ ।
तालमेलकै कारण दुवै अध्यक्ष झापाबाट पछिल्ला दुई निर्वाचनमा विजयी हुनुभएको छ । यता,राप्रपा र पूर्वराजालाई राजनीतिमा हिन्दुत्वले जोडेको छ । एमाले अध्यक्ष ओली पनि ठोरीमा राम मन्दिर निर्माण,पशुपतिमा सुनको जलहरीलगायत विषयमा खुलेर अघि बढ्नुभएको पाइन्छ ।
यस्तो अवस्थामा बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्रको अकस्मात सिंगापुर भ्रमण र कम्बोडिया हिँड्नुभएका एमाले अध्यक्ष ओलीको सिंगापुर ट्रान्जिटलाई संयोग मात्र मान्न गाह्रो परेको हो ।
टिप्पणीहरू