कान्तिपुरले निकाल्यो २४ घण्टामा ४० कर्मचारी

कान्तिपुरले निकाल्यो २४ घण्टामा ४० कर्मचारी

मुलुककै प्रमुख सञ्चारगृहका रुपमा स्थापित कान्तिपुर मिडिया ग्रुपले एकैदिन तीन दर्जन बढी कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ । करार सेवामा कार्यरत ४० जना कर्मचारीलाई कान्तिपुरले जागिरबाट निकालेको हो । २०७८ भदौ १ गतेदेखि कान्तिपुरमा कार्यरत उनीहरुको करार सेवा अन्त्य गरिएको छ । 

२०७९ साउन मसान्तसम्म निमित्त वितरकवाहक पदमा नियुक्त गरिएको उनीहरुको करार सेवा गत असार मसान्तसम्म थपिएको थियो । कान्तिपुरले करार सेवालाई निरन्तरता नदिने घोषणा गरेसँगै उनीहरु बेरोजगार भएका छन् । मानव संशाधन विभागका प्रमुख परमानन्द खनालले साउन १ गते सबैलाई पत्र पठाउँदै तीन दिनभित्र कम्पनीको सामग्री फिर्ता गर्न निर्देशन दिएका छन् । 

‘तपाईंसाथ भएको कम्पनीको सामग्री तथा उपकरण जिन्सी इत्यादीहरु यसपत्र प्राप्त भएको तीन दिनभित्र कम्पनीमा हस्तान्तरण गरी आफ्नो हिसाबकिताब फरफारक गरिदिनुहुन अनुरोध गरिन्छ’, पत्रमा उल्लेख छ । पछिल्लो केही समययता कान्तिपुरले धमाधम पत्रकार तथा कर्मचारी निकालिरहेको छ । 

उनीहरुलाई फोन गरेर र एक्लाएक्लै वार्तामा बोलाएर जागिरबाट राजीनामा दिन दबाब दिने क्रम जारी छ । आफूहरुलाई बिना सेवासुविधा गल्हत्याइएको भन्दै त्यहाँ कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । यता, कान्तिपुरको उक्त गतिविधिप्रति सामाजिक सञ्जालमा समेत चर्को विरोध भइरहेको छ ।

आफ्नो आवश्यकता पूरा भएपछि फाल्ने कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध एकजुट हुन आह्वान गरिएको छ । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यस्ता गलत काम विगतमा पनि कान्तिपुरले गरेकै हो । मजदुरलाई प्रयोग गर्ने साधनका रुपमा प्रयोग गर्ने अनि आवश्यकता पूरा भएपछि फाल्ने मालिकको रबैयाविरुद्ध मजदुर साथीहरु एकजुट बनौं ।’

यता, श्रमजीवी पत्रकार संघ, नेपालले कान्तिपुरको उक्त हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यसको विरोधमा थप सशक्त भएर अघि बढ्ने संघका अध्यक्ष जन्मदेव जैसीले बताए । त्यस्तै, कान्तिपुरका पत्रकार तथा कर्मचारीहरुले अध्यक्ष सिरोहियालाई आज आफ्ना मागसहितको ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।

टिप्पणीहरू