गृहमन्त्रीलाई भेटेका काँग्रेस नेताहरुको बैठकमा आलोचना
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पक्राउ पर्दा पार्टीका नेताहरुले गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएको भन्दै संस्थापन खेमाका नेताले आलोचना गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफ्नै पार्टीका नेता पक्राउ पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर केही नेताहरुले धन्यवाद दिएको भन्दै आलोचना गरेकी हुन् । किन र केका लागि धन्यवाद दिएको ? भनेर बैठकमा प्रश्न उठाएकी उनले आफूले बुझ्न नसकेको बताइन् ।
‘काँग्रेस कानुनी राज्य मान्छ । तर काँग्रेसको एउटा नेतालाई अभियोग लाग्दै गर्दा काँग्रेसकै नेताहरू गृहमन्त्रीकोमा धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । फरक गुटको मान्छेलाई खुइल्याउन यसो गरिएको हो ?,’ नेतृ खतिवडाले सोधिन् । त्यस्तै अभियोग लागेको अर्को कुनै पार्टीको नेताका बारेमा भने गृहमन्त्रीलाई धन्यवाद दिन जाने नेताहरु नबोलेको उनको आरोप छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि संस्थापन इतेर खेमाका नेताहरु गोविन्दराज पोखरेल, मधु आचार्य, गुरु घिमिरे, रञ्जित कर्णलगायतले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । भेटमा उनीहरुले भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई आफूहरुको साथ रहने बताएका थिए ।
अदालतको आदेशले हाल पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई पार्टीमा निलम्बन गर्ने सम्बन्धमा समेत काँग्रेसमा दुई धार छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु विगतमा यस्ता अभियोग लागेका नेताहरुलाई निलम्बन नगरेको नजिर देखाएर खाँणको बचाउमा उभिँदा महामन्त्री गगन थापा समूह भने तत्काल जिम्मेवारीबाट हटाउनुपर्ने अडानमा छ ।
सभापति देउवा सहमत नभएकै कारण यो विषय केन्द्रीय समिति बैठकको एजेण्डा नबनेको बताइन्छ ।
टिप्पणीहरू