शुल्क वृद्धिको निर्णयबाट पछि हट्यो सिटीईभिटी

शुल्क वृद्धिको निर्णयबाट पछि हट्यो सिटीईभिटी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले स्वास्थ्यतर्फका विभिन्न विषयमा बढाएको शुल्क फिर्ता लिएको छ । परिषद्ले सरोकारवालाहरुसँगको छलफलपछि शुल्क समायोजन गर्नेगरी हाललाई यसअघिको निर्णय स्थगित गरेको जानकारी दिएको छ । 

आज जारी सूचनामा भनिएको छ, ‘मिति २०८०–०३–२९ गते परिषद् कार्यालय, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

गत असार २९ गते महाशाखाले स्वास्थ्यतर्फका तीनवटा विषयको शुल्क समायोजनसम्बन्धी सूचना प्रकाशित गरेको थियो । जसअनुसार सीटीईभीटीले नर्सिङतर्फ एक लाख ४९ हजार २३० रुपैयाँ, एचएतर्फ एक लाख १९ हजार रुपैयाँ र फार्मेसीतर्फ ८६ हजार ५०० रुपैयाँ बढाएको थियो । 

बढाइएको शुल्कबमोजिम तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि ६ लाख २४ हजार २३० रुपैयाँ, एचएका लागि ५ लाख २३ हजार ८२० रुपैयाँ र फार्मेसीका लागि ४ लाख २३ हजार ६६० शुल्क तिर्नुपथ्र्यो । तर, हाल यो शुल्क कार्यान्वयन नहुने भएको छ ।

शुल्क वृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले आन्दोलनको चेतावनी दिँदै आएका थिए ।

टिप्पणीहरू