लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन, सरकारले माग सुनुवाई नगरेको आरोप

लघुवित्तको विरोधमा माइतीघरमा प्रदर्शन, सरकारले माग सुनुवाई नगरेको आरोप

लघुवित्त तथा वित्तिय संस्थाले उठीबास लगाएको भन्दै लामो समयदेखि संघर्षमा उत्रिएका पीडितहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । लघुवित्त संस्था खारेजीलगायतका माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन थालेका पीडितहरु माइतीघर मण्डलामा अनशन बसेका छन् । 

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गका स्थानीयको जीवनस्तर उकास्न मद्दत पुर्याउने उद्देश्यले खोलिएका लघुवित्तहरुले कर्जा असुलीमा ज्यादती गरेको पीडितहरुको आरोप छ । झण्डै छ हजार लघुवित्त पीडितहरुले ‘लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर सरकारलाई दबाब दिएपनि उनीहरुका माग सम्बोधन भएको छैन । 

आमरण अनशन बसेको १० दिन बितिसक्दा पनि सरकारले माग सुनुवाई नगरेको भन्दै आन्दोलन थप सशक्त पार्ने उनीहरुको तयारी छ । 

लघुवित्त संस्थाहरुले लिने चर्को ब्याजदर, महँगो सेवाशुल्क र कर्मचारीको अमानवीय व्यवहारविरुद्ध पीडितहरू सङ्गठित भएको समितिले जनाएको छ । उनीहरुले लघुवित्त संस्थाहरू नाफा कमाउनमा मात्रै केन्द्रित हुँदा सदस्यले ऋणको भार बोक्नुपरेको र सरकारले पनि अहिलेसम्म लघुवित्तको समस्या समाधान गर्न कुनै पहल नगरेको आरोप लगाएका छन् । 

लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गरी आफूहरुलाई न्याय दिन सरकार गुहारेका उनीहरुले माग सम्बोधन नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू